सुर्खेत, १६ साउन । स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकोमा निकै पछुतो मानेका वीरेन्द्रनगर ३ का ५७ वर्षीय हरिबहादुर बुढालले यस पटक भने मतदाता परिचयपत्र बनाएका छन् । ५ दिन लाइन लागेर भएपनि उनले परिचयपत्र बनाएका हुन् ।
स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकोमा निकै पछुताएका उनले अव हुने चुनावमा भाग लिनका लागि अहिले नाम दर्ता गर्न आएको जनाए । मतदान गर्ने इच्छा भएपनि नामावली नहुँदा मताधिकारबाट वञ्चित भएको भन्दै उनले यसपटक परिचयपत्र बनाउन निर्वाचन कार्यालयमै आएको उनले बताए ।
यस्तै वीरेन्द्रनगर १ की जयकली भन्डारी मतदाता परिचयपत्र बनाउनका लागि कार्यालयमा धाइरहेको बताउँछिन् । उनले भनिन, ‘आज ५ दिन भइसक्यो अहिलेसम्म पालो आउदैन।’ उनका अनुसार निर्वाचन कार्यालयमा मतदाता परिचयपत्र बनाउनेको संख्याको भिडले गर्दा सास्ती भएको छ । योग्य जनप्रतिनिधि छान्नका लागि मतदाता परिचयपत्र बनाउन जयकली यस पटक भने लाइन पर्खेरै भएपनि मतदाता परिचयपत्र बनाउने योजनामा छिन् ।
यस्तै वीरेन्द्रनगर १० की गिता रावत पनि परिचयपत्र लिनका लागि बिहान ८ बजेबाट लाइन लाग्दा समेत आफ्नो पालो नआएको बताउँछिन् । स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकी गिताले बर्दियाबाट बसाइसराइ गरेर सुर्खेत आएपछि परिचयपत्र बनाउन आएको बताइन् ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचन लगत्तै नामावली संकलन थालिएकाले पनि मतदातामा सचेतना र उत्साहसंगै परिचयपत्र बनाउनेको संख्या बढेको निर्वाचन कार्यालयका सूचना अधिकारी नबीन पौडेलले बताउँछन् । उनका अनुसार सुर्खेतका ९ वटा स्थानीय तह मध्ये ८ वटा स्थानीय तहमा निर्वाचन कार्यालय सुर्खेतका कर्मचारीहरु सोमबार (आज) बाट खटिएका छन् । निर्वाचन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको नामावली संकलन कार्यालयबाट नै गर्ने भएको छ ।
सूचना अधिकारी पौडेलका अनुसार ८ वटा स्थानीय तहमा जिल्ला निर्वाचन कार्यालय सुर्खेतका ८ जना कर्मचारीहरु खटिएका छन् । उक्त कामका लागि १ जना निर्वाचन कार्यालयका कर्मचारी र स्थानीय तह गाउँपालिका र नगरपालिकाका थप ४ जना कर्मचारी गरी ५ जना खटिने पौडेलले जानकारी दिए । उनले भने ‘निर्वाचनबाट गएका कर्मचारीसँग एउटा ल्याटप हुनेछ, उनले फोटो खिच्ने र दर्ता गर्ने काम गर्नेछन्, भने गाउँपालिका र नगरपालिका अन्य कर्मचारीले भने दर्ता सहायक तथा सहयोगीका रुपमा काम गर्ने छन् ।’
पछिल्ला निर्वाचनका लागि सुर्खेतमा फोटोसहितको मतदाता परिचयपत्र बनाउनेको माहोल निकै उत्साहपूर्ण रहेको छ । साउन १ गतेदेखि सुरु भएको मतदाता संकलनमा १५ दिनको अवधिमा ५ हजार भन्दा धेरै जनाले परिचयपत्र बनाइसकेका छन् ।
मतदाता संकलनको लागि मतदाताहरु निर्वाचन कार्यालयमै पुगी आफ्नो परिचयपत्र बनाएका छन् । नामावली संकलनका क्रममा नाम दर्ता गराउन आउने अधिकांश उमेर पुगेका र विगतका निर्वाचनमा मतदान गरेपनि स्थानीय तह निर्वाचनका बेला नाम छुट भएका बढी देखिएका छन् ।
गाउँपालिका र नगरपालिका कार्यालयहरुमा साउनको १६ गते देखि ३२ गते सम्म नाम दर्ताको कार्यक्रम संचालन गरिने कार्यालयका सूचना अधिकारी पौडेलले जानकारी दिए ।
फोटो सहितको मतदाता नामावली संकलन गर्नुपर्ने भएकाले दक्ष जनशक्तिको व्यवस्थापन गर्न कठिनाइ पर्न सक्ने आयोगको आकलन गरेको भए पनि निर्वाचन कार्यालय सुर्खेतले मतदाता नामावली संकलनका लागि कार्यालयकै कर्मचारी पर्याप्त भएको जनाएको छ ।
प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार १७:०७