काठमाडौ १६ साउन । काठमाडौं उपत्यकाका सडकमा बनेका खाल्डाखुल्डी तोकिएको समयसीमाभित्र पुर्न सम्बन्धित निकाय असफल हुने देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १ गते १५ दिनभित्र उपत्यकाका सबै सडकमा बनेका खाल्डाखुल्डी पुरिसक्न सम्बन्धित मन्त्रालय–निकायलाई निर्देशन दिएका थिए । तर, कुनै पनि निकायले तोकिएको समयसीमाभित्र शतप्रतिशत काम पूरा नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । ‘सोमबार प्रधानमन्त्रीले दिएको निर्देशन पूरा गर्ने अन्तिम दिन भए पनि सबैको काम पूरा गर्ने अवस्था देखिँदैन,’ उनले भने । उपत्यकाको विकास निर्माणमा अन्तर मन्त्रालय–निकाय समन्वय र अनुगमनको संयोजकसमेत रहेका उनले १५ साउनमा प्रगतिको अन्तिम प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिए ।
नियमित गर्छौँ : सडक विभाग
सडक विभागले उपत्यकाका सडकमा रहेका खाल्डा पुर्ने कामलाई नियमित गर्ने बताएको छ । विभागअन्तर्गतको मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाका अनुसार सडकको खाल्डा पुर्ने कामलाई नियमित कार्यातालिका बनाइनेछ । ‘तोकिएको समय (१५ दिन) भित्र सम्पूर्ण काम सम्पन्न नभए पनि हाम्रो नियमित कामका रूपमा सडक निर्माणलाई सुचारु राखिनेछ,’ उनले भने । विभागले पछिल्लो १४ दिनमा १ सय २६ जना नियमित रूपमा खाल्डा पुर्ने काममा लागेको जानकारी दिएको छ । ‘त्यस्तै, करिब ५० लाख रुपैया“ खर्च भएको छ,’ क्षेत्रीय निर्देशक सापकोटाले भने । उक्त खर्च बालुवा, गिट्टी, बिटुमिनलगायतका सामान खरिद गर्नमा भएको उनको भनाइ छ ।
सबैको समेट्न बाँकी
सडक विभागअन्तर्गत भएको प्रगति मात्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्राप्त भएको छ । सरसफाइ तथा खानेपानी, सहरी विकास र काठमाडौं उपत्यकाले गरेको कामको योजनागत प्रगति अझै आइसकेको छ । त्यस्तै, काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत पर्ने त्रिपुरेश्वर नागढुंगा र चाबहिल–जोरपाटी सरस्वतीमार्ग सडकको पनि प्रगति प्राप्त भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सम्बन्धित निकायहरूले सडक पुर्ने काममा गरेको प्रगतिलाई समेटेर अन्तिम प्रतिवेदन सोमबार सार्वजनिक गर्ने योजना बनाएको छ ।
खाल्डा पुर्ने प्रगति
सडक/चोक प्रगति प्रतिशत
त्रिपुरेश्वर चोक ६०
त्रिपुरेश्वर–सुन्धारा १००
सुन्धारा चोक–रत्नपार्क ७०
जमल चोक १००
केशरमहल–दरबारमार्ग ९०
लैनचौर–खानी विभाग ८०
खानी विभाग– नारायणगोपाल चोक ६८
गोल्फुटार चोक– बूढानीलकण्ठ ८०
थापाथली–माइतीघर ९०
माइतीघर–सिंहदरबार–पुतलीसडक ८०
पुतलीसडक चोक–कृष्ण पाउरोटी ९०
कृष्ण पाउरोटी–ज्ञानेश्वर ९०
भद्रकाली नारायणहिटी– दक्षिणढोका ९०
जयनेपाल–बालुवाटार–प्रहरी तालिम केन्द्र ९०
अनामनगर–कालीकास्थान–चारखाल–ज्ञानेश्वर ९०
गौशला–जयबागेश्वरी ९०
जयबागेश्वरी–मित्रपार्क ९०
मित्रपार्क–चाबहिल चोक ७०
तिनकुने–कोटेश्वर ९०
तिनकुने–एयरपोर्ट–गौशाला १००
सुकेधारा–धुम्बाराही ९५
माछापोखरी–बालाजु चोक १००
बालाजु चोक– वनस्थली–स्वयम्भू ९५
स्वयम्भू–कलंकी ९५
टंकेश्वर–ताहाचल– छाउनी ९०
वनस्थली–भगवानपाउ–शोभाभगवती ६०
महाराजगन्ज–माछापोखरी बाइपास १००
लैनचोर–सोह्रखुट्टे–ठमेल–बालाजु ९५
सोह्रखुट्टे–इन्द्रायणी ६०
सामाखुसी–ग्रिनल्यान्ड चोक–टोखा ९०
कालीमाटी–बल्खु टियू गेट –
प्रकाशित मिति: १६ श्रावण २०७४, सोमबार ०७:२४