काठमाडौं, १५ साउन । प्रमुख तीन दलले जनसंख्या र भूगोललाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन् ।
निर्वाचन क्षेत्र निर्धारण आयोगसँग आइतबार भएको छलफलमा प्रमुख तीन दलका शिर्ष नेतृत्वले संविधानको मर्म अनुसार जनसंख्या र भूगोललाई मूल आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका हुन । उनीहरुले समय छोटो भएकाले सोही अनुसार कार्य सम्पादन गर्न पनि आयोगको ध्यानाकर्षण गराएका थिए ।
सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधानको मर्म अनुसार क्षेत्र निर्धारणको काम सम्पन्न गर्न सुझाव दिएको बताए । उनले जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दां मधेश केन्द्रित दलहरु पनि सहमत हुने विश्वास व्यक्त गरे ।
जनसंख्या र भूगोललाई आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगलाई सुझाव दिइएको सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले जानकारी दिए । उनले समयलाई ख्याल गरेर निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न पनि आयोगको ध्यानाकर्षण गरिएको बताए ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जनसंख्या र भूगोललाई आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सुझाव दिइएको बताए । उनले एउटा मात्रै क्षेत्र भएको जिल्लालाई नचलाउँदा राम्रो हुने धारणा पनि राखे ।
आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि १ सय ६५ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३ सय ३० वटा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेछ । सोही सम्बन्धमा आवश्यक सुझाव दिन आयोगले राजनीतिक दलहरुसँग परामर्श लिन सुरु गरेको हो ।
आयोगले गत बुधबारदेखि निर्वाचन क्षेत्र निर्धारण गर्ने कामलाई औपचारिक रुपमै अघि बढाएको छ । सरकारले काम थालेको मितिले २१ दिन भित्र निर्वाचन क्षेत्र निर्धारणको काम गरिसक्न आयोगलाई कार्यादेश दिएको छ । आयोगले क्षेत्र निर्धारण गरेपछि मात्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारी अघि बढाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारणको काम तत्काल सम्पन्न गर्न सरकारसँग आग्रह गर्दै आएको छ ।
प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार १७:३३