सुर्खेत, १५ साउन । आइतबार वीरेन्द्रनगरमा आयोजित निर्वाचन क्षेत्र निर्धाण आयोगको राय, सुझाव संकलन कार्यक्रममा उपस्थित सम्पूर्ण राजनितक दलका प्रतिनिधिहरुले जनसंख्या भन्दा भौगोलिक आधारमा रहेर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
कार्यक्रममा सांसद तप्तबहादुर विष्टले बनिसकेको संरचनाहरु र स्थानीय तहहरुलाई नटुक्रयाएर क्षेत्र निर्धारण गरिनुपर्ने बताए । पहिलो आधार भुगोललाई मान्दै सांस्कृतिक, आर्थिक अवस्थालाई हेरेर निर्धारण गरिनुपर्ने सभासद विष्टले सुझाव दिए । भने सांसद लालबहादुर घलेले भुगाेललार्इ अाधार बनार्इ निर्वाचन क्षाेत्र निर्धारण गर्न सुझाव दिए ।
पूर्वमन्त्री यामलाल कंडेलले कार्यविधि अपुरो भएको र यसलाई सच्याइनु पर्ने र नयाँ मापदण्डका आधारमा क्षेत्र निर्धारण गर्नु पर्ने बताएका थिए । उनले भुगोलका आधारमा क्षेत्र निर्धारण गर्न आयोग डगमगाइरहेको बताउँदै जनसंख्याको आधारमा निर्धारण गर्ने कार्यविधि तयार पारेको बताए । कार्यविधि र आधारविनाको छलफलले कुनै निष्कर्ष ननिस्किने समेत उनको भनाई थियो ।
नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले गाउँपालिका र नगरपालिकाका वडाहरु नछुटया्एर भौगोलिक आधारमा क्षेत्र निर्धारण गर्ने कुरामा जोड दिए । उनले क्षेत्र निर्धारणका लागि मापदण्ड अनुसार र विकास भएका नगरपालिका र विकास नभएका गाउँपािलकालाई प्राथमिकतामा राखेर निर्धारण गरिनुपर्ने बताए । जनसंख्याका आधारमा क्षेत्र निर्धारण गर्ने निर्णय गलत भएको भन्दै भौगोलिक आधारमा निर्धारण गर्न जरुरी रहेको सभापति रेग्मीले बताए ।
नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुव शाहीले क्षेत्र निर्धारण गर्नका लागि कार्यविधि तयार नभएकाले कार्यविधि बनाएर मात्रै क्षेत्र निर्धाण सुझाव दिए । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र के.सी.ले गाउँपालिका र नगरपालिकाका वडाहरुलाई नछुट्या्एर क्षेत्र निर्धारण गरिनु पर्ने बताए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले जनसंख्या थोरै भएका कारण भुगोललाई प्राथमिकता दिने कुरामा जोड दिए । उनले प्रदेश नं. ६ मा भौगोलिक विकटता धेरै भएका कारणले गर्दा भुगोललाई हेरेर क्षेत्र निर्धारण गर्नुपर्ने बताए । भौगोलिक क्षेत्र निर्धारण गर्दा सुगमताको पक्षलाई लिएर गरिनु पर्ने नगरप्रमुख सुवेदीले बताए ।
लेकवेशी नगरपालिका सुर्खेतका प्रमुख गगनसिं सुनारले जनसंख्यालाई मात्रै नभएर भौगोलिक आधारलाई प्राथमिकता दिने कुरामा जोड दिए । उनले प्रदेशमा स्थानिय तह नफुटाउने गरेर क्षेत्र निर्धारण गरिनुपर्ने बताए ।
माओवादी केन्द्रका सदस्य ठम्मर विष्टले आर्थिक र शिक्षाका कुराहरुलाई प्राथमिकतामा राखेर क्षेत्र निर्धारण गरिनु पर्ने बताए ।
क्षेत्रीय प्रशासक महेन्द्र गुँरागाईंले कार्यक्रममा आएको सुझावका आधारमा मापदण्ड बनाएर क्षेत्र निर्धारण गरिने बताएका छन् । उनले भौगोलिक र जनसंख्यालाई बराबर महत्व दिएर आयोगले त्यही मापदण्ड अनुसार क्षेत्र निर्धारण गर्ने जनाएका छन् ।
कार्यक्रममा जनमोर्चाका लालबहादुर नेपाली, नेपाली कांग्रेसका क्षेत्रीय सभापति नाराणण कोइराला, ने.क.पा. एमालेका सचिव मोहन बडुवाल लगाएतले आ–आफ्नो धाराणा राखेका थिए ।
प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार १६:२८