काठमाडौं, १३ साउन । प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको दिन शुक्रबार नागपञ्चमी पर्व मनाइएको छ ।
घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइएको हो । घरको मूलढोकामाथि नागको तस्विर टाँस्दा नाग, सर्प र विच्छी लगायत जीवले दुःख नदिने र घरमा लक्ष्मीले बास गर्ने जनविश्वास रहदै आएको छ ।
नागपञ्चमीको अवसरमा नागको पुजा आजाका लागि शनिबार विहानै देखि पशुपतिको बासुकि मन्दिर, धापाखेलस्थित नागदह, नक्सालको नागपोखरी र कर्कोटक नागको बासस्थान मानिदै आएको टौदहमा उल्लेख्य श्रद्धालु भक्तजनको भीड लागेको छ । नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए पानीको अभाव हुने भएकाले नागलाई खुशी पार्न श्रावण शुक्ल पञ्चमीको दिन पारेर नागको पूजा गर्ने प्रचलन छ ।
किंवदन्ती अनुसार किसानले आफ्ना तीन बच्चा मारेकामा रिसले चुर नागिनीलाई किसानकी छोरीले आफ्ना मातापिता र भाइलाई बचाउनका लागि पूजाआजा र प्रार्थना गरेर दुध खान दिएको र प्रसन्न भएर नागिनीले किसानको परिवारलाई जीवनदान दिएको दिनको सम्झनामा श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी पर्व मनाउने गरिएको हो ।
त्यसैगरी शुक्रबार नै ऋषितर्पणी तथा रक्षाबन्धन पर्व पनि मनाईएको छ । श्रावण शुक्ल पुर्णिमाका दिन मनाईने यो पर्व यसपटक पञ्चमीकै दिन मनाईएको हो । पुर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन मनाईएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
जनै पुर्णिमाको दिन तागाधारीले गुरु पुरोहितद्धारा मन्त्रिएको जनै फेर्ने गर्छन् । बिहानै नजिकको पवित्र तिर्थस्थल पुगी गाईको गोबर, खरानी, दतिवन र सप्तमृत्तिका लगाएर स्नान पश्चात जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी पुरोहितद्धारा विशेष मन्त्रद्धारा मन्त्रिएको नयाँ जनै फर्ने चलन छ ।
ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । साथै महिलाहरुले मन्त्रीएको डोरो हातको नाडीमा बाँध्ने चलन छ । तराई तिर आजको दिन दिदी बहिनीले दाजुभाईलाई राखी बाध्ने गर्दछन् ।
प्रकाशित मिति: १३ श्रावण २०७४, शुक्रबार १३:३६