पोखरा, १२ साउन । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुने दोस्रो पोखरा स्पोट्र्स अर्वाडमा पूर्वखेलाडी खड्ग रानाभाटलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ ।
अवार्डका लागि गठित छनोट समितिको बुधबार बसेको बैठकले रानाभाटलाई सम्मान गर्ने निर्णय गरेको मञ्चले जनाएको छ । बैठकले विभिन्न विधा मनोनयनमा पर्ने खेलाडीको नामसमेत सार्वजनिक गरेको छ ।
वर्ष उत्कृष्ट महिला खेलाडीमा सुस्मी श्रेष्ठ फुल कन्ट्याक्ट कराते, टीका माया गुरुङ भारोत्तोलन र अरुणा शाही भलिबल मनोनयनमा परेका छन । यसैगरी, वर्ष उत्कृष्ट पुरुष खेलाडीमा करण केसी क्रिकेट, कुमार अधिकारी लन टेनिस र विशाल बस्नेत ह्याण्डबल छन् ।
छनोट समितिले उदीयमान खेलाडीमा ममता डगौरा भलिबल, दर्शना बुढामगर र सागर नेपाली एथलेटिक्स लाई समेत मनोनयन गरेको छ भने प्रशिक्षकमा सुनबहादुर लामा तेक्वान्दो, बखतमान श्रेष्ठ भारोत्तोलन र इन्द्रा मल्ल एथलेटिक्स लाई मनोनयन गरेको छ ।
मनोनयनमा परेका तीनजनामध्ये प्रत्येक विधाबाट एक/एक जनाले अवार्ड प्राप्त गर्नेछन् । उनीहरुलाई अवार्डसहित नगद पुरस्कारबाट सम्मानित गरिनेछ ।
यसैगरी, मञ्चले यस वर्षदेखि एउटा उत्कृष्ट सङ्घलाई समेत सम्मान गर्ने भएको छ, जसअन्र्तगत कास्की जिल्ला लन टेनिस सङ्घलाई उत्कृष्ट सङ्घका रुपमा सम्मानित गरिनेछ । उत्कृष्ट सङ्घलाई नगद रु १० हजारसहित सम्मान गरिने मञ्चले जनाएको छ ।
समितिको बैठक मञ्चका सल्लाहकार एवं प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको थियो । छनोट समितिमा आठजना सदस्य रहेका थिए । पोखरा स्पोर्ट्स अर्वाड वितरण यही साउन २१ गते पोखरा सभागृहमा हुने भएको छ । रासस
प्रकाशित मिति: १२ श्रावण २०७४, बिहीबार ०९:०५