काठमाडौ १० साउन । कांग्रेसले संविधान संशोधनलाई अघि बढाउने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले दलहरूबीचको पूर्वसहमति कार्यान्वयन गर्न संसद्मा दर्ता संशोधन विधेयक अघि बढाउन तयार रहेको निष्कर्ष निकालेको हो । ‘माओवादी केन्द्र, लोकतान्त्रिक मधेसी मोर्चा, संघीय गठबन्धन, राष्ट्रिय जनता पार्टीलगायत सबै राजनीतिक दलहरूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न कांग्रेस प्रतिबद्ध छ,’ कांग्रेस निर्णयमा उल्लेख छ, ‘कांग्रेस संसद्मा विचाराधीन नेपालको संविधान संशोधन विधेयक पूर्वसहमतिअनुरूप पेस गरी पारित गर्न तयार छ ।’
विधेयक पारित गरी संविधानको स्वीकार्यता विस्तार गर्न र आगामी सबै तहका निर्वाचनको वातावरण सहज बनाउन पनि कांग्रेसले प्रमुख प्रतिपक्ष एमालेलगायत सबै दलहरूलाई अपिल गरेको छ । बैठकले पूर्वसहमतिअनुरूप कार्य गर्न सरकारसँग पनि माग गरेको छ । तर, संशोधन प्रक्रिया कहिलेसम्म अघि बढाउने भन्ने विषयमा कांग्रेस केही बोलेको छैन ।
‘संविधान कार्यान्वयनसँग जोडिएको विषय संविधान संशोधनलाई अघि बढाउन तयार छौँ,’ कांग्रेस नेता एवं मन्त्री गोपालमान श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अघि बढाएपछि फेल हुने गरीभन्दा सकेसम्म पास होस् भन्ने हाम्रो चाहना हो । राप्रपाका सबै ३७ सांसदले मत हाल्दा संविधान संशोधनमा दुईतिहाइ पुग्छ । हाम्रो पहल सकेसम्म पास गर्ने नै हो ।’ फेल भए पनि अगाडि बढाउने वा नबढाउने भन्नेमा राजपासँगको छलफलपछि टुंग्याउने मनस्थितिमा कांग्रेस छ । तर, कांग्रेसभित्रै २ असोजमा २ नम्बर प्रदेशमा हुने निर्वाचनअघि नै पास वा फेल जे भए पनि संशोधनलाई निर्णयार्थ पेस गर्न दबाब छ ।
आफ्नै पार्टीकोे नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनको ऐतिहासिक जिम्मेवारी पार्टीकै काँधमा आएको भन्दै संविधानको सर्वस्वीकार्यता स्थापित गर्न तयार रहेको कांग्रेसले जनाएको छ । संविधानको कार्यान्वयन गर्दै संविधानमा उल्लेख भएको समयसीमाभित्र स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचन गर्नु राष्ट्रिय एजेन्डा भएको कांग्रेस निष्कर्ष छ । यी एजेन्डालाई सम्पन्न गर्न ७ माघभित्र सबै निर्वाचन सम्पन्न गर्ने ऐतिहासिक जिम्मेवारी सफलताका साथ पूरा गर्न तयार रहेको कांग्रेसले जनाएको छ ।
निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण काम
कांग्रेसले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले हुनुले संविधानको कार्यान्वयनको सन्दर्भमा महत्वपूर्ण कार्य भएको जनाएको छ । निर्वाचन सफल गराउन भूमिका खेल्ने प्रचण्ड नेतृत्वको सरकारसहित सहयोग गर्ने सबै पक्षलाई कांग्रेसले धन्यवाद दिएको छ ।
अपेक्षित परिणाम नआएको स्वीकारोक्ति
कांग्रेसले स्थानीय तहको दुई चरणको निर्वाचनमा आशा गरेअनुसारको परिणाम प्राप्त गर्न नसकेको स्वीकारेको छ । ‘राष्ट्रिय राजनीतिमा महत्व राख्ने आर्थिक–सामाजिक एवं राजनीतिक सवालमा कांग्रेस सदैव नेपाल र नेपालीको पक्षमा दृढसंकल्पित भएर उभिएको छ । निर्वाचनमा उम्मेदवारी चयनमा ढिलाइ हुनु, आन्तरिक द्वन्द्व, असन्तुष्टि व्यवस्थापन गर्न समयको अभाव र कतिपय स्थानमा पार्टीकै साथीहरूबाट असहयोग र अन्तर्घात भएका कारण निर्वाचनमा अनपेक्षित परिणाम आएको छ,’ चुनावी परिणामबारे कांग्रेस निर्णयमा भनिएको छ, ‘त्यसका बाबजुद लोकतान्त्रिक प्रक्रियाबाट प्राप्त सबैको जितलाई उच्च सम्मान एवं मतदाताले नेपाली कांग्रेसलाई दिएको प्रत्येक मतप्रति यो बैठक हार्दिक आभार प्रकट गर्दै निर्वाचनमार्फत व्यक्त जनमतको कदर गर्दछ ।’
अन्तर्घातीलाई कारबाही
निर्वाचनका सन्दर्भमा पार्टीबाट भएका कमीकमजोरी सच्याउने र निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने वा अन्तर्घात गर्नेलाई पार्टीको विधान र नियमावलीबमोजिम आवश्यक कारबाहीका लागि आन्तरिक प्रक्रिया सुरु गर्ने निर्णय पनि कांग्रेसले गरेको छ ।
प्रदेश नम्बर २ मा अग्रता दिलाउने दाबी
कांग्रेसले पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा पछि रहे पनि २ नम्बर प्रदेशमा पार्टीलाई अग्रता दिलाउने दाबी गरेको छ । यसका लागि प्रदेश नम्बर २ का पार्टीका सबै निकाय, भ्रातृसंस्था, शुभेच्छुक संस्थासहित पार्टीका सदस्यलाई परिचालन गर्ने निर्णय कांग्रेसको छ । सदैव समृद्ध मधेस र अधिकारसम्पन्न मधेसी जनताको पक्षमा रही काम गर्दै आएको र तराई–मधेसका सबै भावनासँग आत्मसात् गर्न पार्टी दृढ रहेको भन्दै कांग्रेसले पार्टीका पक्षमा मतदान गर्न सबैलाई आग्रह गरेको छ ।
तीनै दिन पक्ष–विपक्षमा बहस
तीन दिनसम्म चलेको बैठकमा नेताहरूले गुटगत आधारमा धारणा राखेका थिए । नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरूले पार्टीले प्रधान्यायाधीशविरुद्धको महाअभियोग, राजदूत सिफारिसको विषय, आइजिपी प्रकरणजस्ता विषयमा लिएको अदूरदर्शी नीतिले कांग्रेस पराजित हुन पुगेको बताएका थिए । तर, संस्थापन (देउवा) पक्षका नेता बचाउमा उत्रिए । स्थानीय तहको निर्वाचनमा एमालेभन्दा पछि पर्नुको कारण राष्ट्रिय राजनीतिका यी विषय मात्रै नभएको उनीहरूले तर्क गरेका थिए । निर्वाचनमा अन्तर्घात हुँदा कांग्रेस एमालेभन्दा पछि पर्नुपरेको देउवा पक्षका नेताहरूको जिकिर थियो ।
युवा नेताको फरक मत
कांग्रेस युवा नेताहरूले भने बैठकमा फरक मत राखे । गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, कल्याण गुरुङ, रामकृष्ण यादवसहितका केन्द्रीय सदस्यले पार्टी हार्नुको कारण कुनै एक पक्ष मात्रै नभएको भन्दै एकताको सन्देश दिन आग्रह गरेका थिए । हारेपछि एक अर्कालाई दोष दिनुभन्दा पार्टीलाई एक बनाएर लान, सरकारमा बसेर प्रभावकारी काम गरेर आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने दिशामा अग्रसर हुन नेताहरूलाई सुझाएका छन् ।
देउवाले बैठकमा भने– अन्तर्घातीको नाइकेलाई कारबाही गर्छु

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० सिट पछि परेको भन्दै कांग्रेस बैठकमा नेतृत्वको आलोचना भयो । तीन दिनसम्म चलेको बैठकमा नेताहरूले पार्टीका उम्मेदवारविरुद्ध बागी उठ्ने, विद्रोहीलाई बढी मत आएको र अन्तर्घातकै कारण जित्नुपर्ने ठाउँमा समेत पराजित भएको गुनासो पनि गरे । नेताहरूको धारणापछि जवाफ दिँदै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले अन्तर्घातीका नाइकेलाई कारबाही गर्ने भन्दै कडा रूपमा प्रस्तुत भए । ‘अन्तर्घातीलाई कारबाही नगरेसम्म चुनाव जितिंँदैन । सानालाई होइन, अन्तर्घातीको नाइकेलाई कारबाही गर्छु । पार्टीमा भिडतन्त्र असाध्यै भयो, अब चुस्त दुरुस्त बनाउनैपर्छ,’ सोमबार रातिसम्म चलेको बैठकमा झन्डै आधा घन्टा बोलेका देउवाले भने ।
यस्तो लफडा भएको थाहा थिएन
हामीले यसअघि पनि थुप्रैपटक निर्वाचन गरेका छौंँ, तर यसपटक जति लफडा र झमेला भएको थाहा थिएन । यस्तै लफडाका कारण टिकट वितरणमा ढिलाइ भएको हो । यही ढिलाइ र अन्तर्घातका कारण हामी एमालेभन्दा अलि पछि परेका हौं ।
हारको मुख्य कारण अन्तर्घात
वर्षौपछि स्थानीय तहको निर्वाचन भएकाले उम्मेदवारका लागि धेरै आकांक्षी थिए । निर्वाचनमा धेरै आकांक्षी हुने र लफडा हुने भएपछि हामीले समयमा टिकट वितरण गर्न नसकेकै हो । साधनस्रोत परिचालनमा पनि हामी एमालेभन्दा पछाडि पर्यौं । तर, हामीले निर्वाचनमा हार्नुको मुख्य कारण अन्तर्घात नै हो । निर्वाचनमा अन्तर्घात गर्नेलाई अनुशासनको कारबाही गर्नैपर्छ । नगरे पार्टी बाँच्देैन । पार्टी बरु सानै होस्, धेरै नेता निष्कासन गर्न तयार छु । पार्टीको आकार सानो भएर केही हुँदैन, तर चुस्त दुरुस्त बनाउनै पर्छ । पार्टीविरुद्ध अन्तर्घात गर्नेलाई यत्तिकै छोडिँदैन ।
नाइकेलाई कारबाही गर्छु
अन्तर्घातीलाई कारबाही नगरेसम्म चुनाव जितिंँदैन । सानालाई होइन, अन्तर्घातीको नाइकेलाई कारबाही गर्छु । पार्टीमा भीडतन्त्र असाध्यै भयो, अब चुस्त दुरुस्त बनाउनै पर्छ ।
नआत्तिउँ, सम्हालिएर जाउँ
हामी २०५१, २०५४ र २०६४ सालमा पनि दोस्रो पार्टी भएका हौं । अहिले स्थानीय तहमा पुनः दोस्रो भयौं भनेर आत्तिनुपर्ने स्थिति छैन । हाम्रोसामु अब स्थानीय तहको तेस्रो चरणको निर्वाचन छ । यसका लागि छिट्टै उम्मेदवार तय गरेर जाउँ, सम्हालिएर जाउँ नतिजा हाम्रै पक्षमा आउँछ । हामीले सबैलाई समेटेर संविधान संशोधन गरेरै जाने नीति लिँदै आएका छौं । फेरि पनि संशोधनलाई टुंग्याउन तयार छौं । संशोधन पास नहुने भए नलैजाने भनेर रोकिएको हो । निर्णयार्थ पेस गर्न हामी सधैं तयार छौं ।
आन्तरिक किचलोले ढिलो भयो
पार्टीका संरचना र तहलाई समयमा गर्न नसकिएको हो । आन्तरिक किचलोको कारणले हो । पदाधिकारी चयन, विभाग गठनसहितका पार्टीका तहलाई सर्वसम्मत रूपमा गरौं भन्दा ढिलाइ भइरहेको हो । सहमति भए म भोलि नै गर्न तयार छु । रामचन्द्रजी तपाई सहयोग गर्न तयार रहनुस् । सहमति नभए अब केही दिनपछि बाहुमतले भए पनि गर्छु ।
सरकार विस्तार चाँडै
सरकार विस्तार ढिलाइ भएको साँचो हो । प्रचण्डजी पनि देश बाहिर जानुभयो । सरकारमा सहभागी हुने दलको पनि टुंगो लगाउन बाँकी नै थियो । आन्तरिक व्यवस्थापन मिलाउन समय लागिरहेको छ । मन्त्रालय भागबन्डामा समेत केही समय लागेकाले ढिलो भइरहेको हो । अब एक दुई दिनमा सरकार विस्तार गर्छु ।
न्यायालयबारे देउवा
मैंले न्यायालयको निर्णय मान्दिनँ भनेको छैन । तर, मलाई अन्याय भयो, चित्त बुझेन भन्न पाइन्छ । पुनरावेदन गर्न पाइन्छ । आइजिपी बनाउने विषय मन्त्रिपरिषद्को अधिकार हो । (कानुनको दफा नै पढेर सुनाउँदै) यसमा न्यायालयले हस्तक्षेप गर्ने होइन भनिएको हो । न्यायालयका पनि कमजोरीलाई रोक्ने र अकुंश लगाउन सक्ने भनेको संसद्बाट महाअभियोग लगाउने मात्रै हो । यो पनि ल्याउनै पाइँदैन, दर्ता गर्न नै पाइँदैन भन्नु खतरनाक हो । तर, पनि हामीले अदालतको निर्णय मान्दैनौं भनेका छैनौं । चित्तबुझ्दो भएन भन्न पाइन्छ ।
अन्य शीर्ष नेताले के भने
मिलेर खाउँ भन्या होइन, मिलेर जाउँ भनेको हुँ : रामचन्द्र पौडेल
मैंले पार्टीलाई मिलाएर जाउँ भन्दै आएको छु । मिलिजुली खाउँ भनेर कहिल्यै पनि भनेको छैन । हामी धेरै अगाडिसम्म जानु छ, त्यसैले पार्टीलाई मिलाएर जानुपर्छ भन्न खोजेको हुँ । हामी अब तेस्रो चरण, प्रदेश र संघीय संसद्को निर्वाचनमा पनि छिट्टै जानुछ । यसका लागि प्रभावकारी रूपमा अघि बढ्नुपर्छ । पार्टीका संरचना, तहले छिटो पूर्णता पाए संगठन सुदृढ हुन्छ, त्यसैले समयमा यिनलाई पूर्णता दिनुपर्छ । मैंले त सुशीलजी प्रधानमन्त्रीको पदमा उठ्न हुँदैन भनेको थिएँ, तर त्यस्तो भएन । हाम्रो प्रतिस्पर्धी पार्टी एमालेसँग सहकार्य तोड्ने सही निर्णय थियो भन्ने मलाई लाग्छ । कांग्रेस, माओवादी र एमाले तीन पार्टीको गठबन्धन भएको भए मधेसवादी दल झन् टाढिने थिए । एमालेसँगको गठबन्धन टुट्नु ठीकै छ ।
कम्युनिस्टसँग मिल्नु हुन्न : शशांक कोइराला महामन्त्री
बीपीले २०३६ सालमैं कम्युनिस्टसँग एकता गरेर जान हुन्न भन्नुभएको थियो । ०४६ सालमा हामीले एकता गरेर आन्दोलन गर्दा एमाले झन् हावी हुँदै गयो । कम्युनिस्टसँग मिलेर जानु अझै पनि राम्रो होइन । हामीभित्रै केही समस्या छन् भने आपसी सहमतिमा मिलाएर पार्टीलाई एक बनाएर लानुपर्छ ।
संशोधनलाई निर्णयार्थ पेस गरौं : सीतादेवी यादव, कोषाध्यक्ष
हामी यतिखेर २ नम्बर प्रदेशको निर्वाचनको मुखैमा छौं । तराई कांग्रेसको प्रभाव र पकड रहेको क्षेत्र हो । त्यसैले निर्वाचनअघि संविधान संशोधनलाई निर्णयार्थ पेस गर्नुपर्छ । अन्यथा २ नम्बर प्रदेशमा सफलता पाउन गाह्रो पर्छ । सकेसम्म संविधान संशोधनलाई पास गराउनुपर्छ, होइन पास नै नहुने अवस्था भए प्रक्रियामा लगेर भए पनि टुंग्यानुपर्छ ।
मंसिरसम्म संसद्को निर्वाचन भइसक्नुपर्छ : सिटौला
१० मंसिरभित्र संसद्को समेत चुनाव हुनुपर्छ । संविधान जारी गर्न नेतृत्व गरेका हामी कार्यान्वयनमा पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । यसका लागि सरकारले प्रष्स् कार्ययोजना ल्याउनुपर्छ । यसका लागि छिटै निर्वाचन घोषणा हुनुपर्छ । राजनीतिक उपलब्धिलाई संस्थागत गर्न पनि संविधान कार्यान्वयन गर्नुपर्छ । यसका लागि प्रदेश र संसदको निर्वाचन मंसिरसम्म भइसक्नुपर्छ ।
सभापति विधिअनुसार चल्नु भएन : प्रकाशमान सिंह
सभापतिजीले पहिले सुशीलजीलाई विधानअनुसार चल्नुभएन भनेर जहिल्यै विरोध गर्नुभयो । तर, सभापतिजी आफू पदमा पुगेपछि पार्टीलाई विधि, पद्धतिमा हिँडाउने बाटोमा चुक्नुभएको छ । समयमा पार्टीका संरचना र तहलाई पूर्णता दिन तपाईं किन चुक्दै आउनुभएको हो ?
प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार ०७:३९