बनियानी (झापा), ६ साउन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विश्वेश्रप्रसाद कोइरालाले देखाउनु भएको समाजवादको बाटो बाटै मूलुक अघि बढिरहेको बताएका छन् ।
३५औँ बिपी स्मृति दिवसको अवसरमा काँग्रेस भद्रपुर नगरसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने –“बिपीले प्रतिपादन गर्नुभएको समाजवादको सिद्धान्त बमोजिम नै मुलुकमा गणतन्त्र र संविधान निर्माण भएको छ ।”
नेता सिटौलाले “बीपीले प्रतिपादन गर्नुभएको राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवाद अपरिहार्य छ,” भन्दै बिपीको सिद्धान्त बमोजिम देशमा सबै जातजाति, भाषा, धर्मसहितको राजनीतिक एकता कायम रहनुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीचको एकता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “गणतन्त्र संस्थागत गर्न पनि संविधान कार्यान्वयन हुनुपर्छ ।”
नगर सभापति मोहन महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा काँग्रेस झापाका सभापति उद्धप थापा, नेपाल महिला सङ्गघ केन्द्रीय सदस्य गोमा भट्टराईले मुलुकको समृद्धिका लागि विपीको सिद्धान्त आज पनि सान्दर्भिक भएको धारणा व्यक्त गरे ।
कार्यक्रममा हालै सम्पन्न दोस्रोचरणको स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट विजयी उम्मेदवारलाई सम्मान समेत गरिएको थियो ।
यसअघि नेता सिटौलाले बिपीको शालिकमा माल्यार्पण गरेका थिए । रासस
प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार १७:०३