असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको गएको वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को सक्वेल ‘छक्का पन्जा २’ को पहिलो गीत रिलिज भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको गीत सार्वजनिक गरिएको हो । ‘ए दाजु नसमाउ न नाडीमा’ बोलको ट्राभल्स सङमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल र वर्षा राउत फिचरिङ छन् ।
गीतमा स्वस्तिमाको जोडी स्वरुपपुरुष ढकाल र जितु नेपालको जोडीमा वर्षा राउत देखिएकी छिन् । केदार घिमिरेको जोडीलाई भने गीतमा देखाइएको छैन । यो फिल्मलाई दोस्रो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।
प्रिन्स र दीपकराज गिरीले लेखेको गीतमा अल्मोडा राना उप्रेती र सुजाता बर्माले स्वर दिएका छन् । संगीत प्रिन्स र अल्मोडा राना उप्रेतीको रहेको छ । गीत गाउँदै कलाकार जीतु नेपाल, केदार घिमिरे (माग्नेबुढा), वर्षा राउत, स्वस्तिमा खड्का र स्वरुपपुरुष ढकाल पोखरा–बाग्लुङ राजमार्गमा डिजेल गाडीमा हुइकिएका छन् । गीतको कोरियोग्राफर कविराज गहतराज हुन् ।
फिल्मका कार्यकारी निर्माता विकास आचार्य हुन् । पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का र स्वरूपपुरुष ढकाल यो फिल्मको लिड कलाकारको रुपमा रहेका छन् ।
गीत रिलिज कार्यक्रममा पूर्व घोषित वचनलाई पूरा गर्दै निर्माण कम्पनी आमा सरस्वती फिल्मस् ले ‘छक्का पन्जा’बाट कमाएको पैसाबाट काभ्रेका स्थानीयका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ ।
फिल्मको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो फिल्ममा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।
प्रकाशित मिति: ६ श्रावण २०७४, शुक्रबार १२:३०