काठमाडौँ, ५ साउन । गृहमन्त्री जनार्दन शर्माले प्रमुख पर्यटकीय क्षेत्र ठमेल र पोखरालाई २४सै घण्टा खुलाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताएका छन् ।
गन्तव्य नेपालको १३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले भने, “मैले ठमेल र लेकसाइडलाई २४सै घण्टा खुलाउने निर्णय गरिसकेको हुनाले व्यवसायीलाई पहल कदमी लिएर अगाडि बढ्न आग्रह गर्छु, आवश्यक सुरक्षा गर्न सम्बन्धित प्रशासनले मिलाउने व्यवस्था भइसकेको छ ।”
कार्यक्रममा नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा राजनीति हावी भएको टिप्पणीका सन्दर्भमा पर्यटन क्षेत्रको विकासका लागि राजनीतिमुक्त होइन राजनीतिकरणमुक्त बनाइनुपर्छ भने ।
नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले पर्यटन क्षेत्रमा मौलाएको राजनीतिको अन्त्य गरी पर्यटकीय पूर्वाधार निर्माणतर्फ सबैको ध्यान जानुपर्ने बताए। पर्यटन व्यवसायी दीपक महत, रामशरण थपलिया, कमल सापकोटा, नवराज दाहाललगायतले पर्यटन क्षेत्रलाई व्यावसायिक र मर्यादित ढंगले अघि बढाउन व्यवसायी एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान गरिएको छ ।
रासस सम्पादक सम्मानित
गन्तव्य नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘गन्तव्य नेपाल पत्रकारिता–पुरस्कार’ पर्यटन प्रवद्र्धनमा योगदान गरेबापत यस वर्ष ‘राष्ट्रिय समाचार समिति’ (रासस) का कार्यकारी सम्पादक कृष्ण अधिकारी र ‘जनसवाल’ दैनिकका प्रधानसम्पादक रामजी बगालेलाई रु १० हजारसहित प्रदान गरिएको छ ।
कार्यक्रममा पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विभिन्न पर्यटन व्यवसायीलाई समेत सम्मान गरिएको थियो । गन्तव्य नेपालले पछिल्लो समय गन्तव्य ग्रुपमार्फत साप्ताहिक पत्रिका र ‘गन्तव्य नेपाल डटकम’ अनलाइनमार्फत पर्यटन पत्रकारितामा योगदान गर्दै आएको अध्यक्ष शिव अधिकारीले बताए । रासस
प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार १७:३५