बागलुङ, ५ साउन । जिल्लामा हालसम्म ८५ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ ।
मनसुन सक्रिय भएसँगै किसान रोपाइँमा व्यस्त छन् । जिल्लाभर पाँच हजार ९५ हेक्टरमा रोपाइँ भइसकेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जानकारी दिए ।
जिल्लामा कुल पाँच हजार ९९५ हेक्टर जग्गामा धानखेती गरिन्छ । एक साताभित्र जिल्लाभर रोपाइँ सकिने अधिकारीले बताए । सिञ्चित क्षेत्रमा गत जेठ दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । जिल्लाको गलकोट, कुश्मिसेरा, बुर्तिवाङ, खरवाङलगायत क्षेत्रमा रोपाइँ सकिएको छ ।
जिल्लामा करिब तीन हजार हेक्टरमा उन्नत र बाँकी क्षेत्रफलमा स्थानीय जातको धानखेती गरिन्छ । पछिल्लो समय धान उत्पादनमा वृद्धि गर्न उन्नत जातको खेतीतर्फ किसान अग्रसर बनेका छन् । कार्यालयले उन्नत धानको खेती बढाउन बीउ वितरण र बीज वृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।
उन्नत जातको धान लगाउँदा १५ प्रतिशतसम्म उत्पादन बढाउन सकिने कार्यालयले जनाएको छ । हाल बागलुङमा धानको उत्पादकत्व ३.१ मेट्रिक टन छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धानखेती हुँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १, २, ३ लगायत उन्नत जातको खेती हुँदै आएको छ । रासस
प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार १३:४१