इलाम, ५ साउन । निजीरूपमा वन जंगल हुर्काउने र त्यसबाट मनग्ये आम्दानी र मान सम्मान पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् इलामको माईजोगमाई गाउँपालिका–१ की कुसुम दाहाल ।
दुई वर्ष अगाडि इलाममा सुरू भएको निजी वन दर्ता र वन रेखदेखमा सक्रिय उनले हालै रु ७५ हजारको निजी वन राष्ट्रिय पुरस्कार हात पार्न सफल भएका छन् । वन मन्त्रालयले वर्षेनी प्रदान गर्दै आएको सो पुरस्कारबाट दाहाल पुरस्कृत हुनुभएको हो ।
प्याङको करिब ४७ रोपनी जग्गामा रहेको उनको निजी वनले पटक–पटक जिल्लामा पनि प्रशंसा पाएको छ । निजी वन औपचारिक रूपमा दर्ता नभई नै उक्त वन क्षेत्रमा रहेको उत्तिस, मलातो करोडाैंको मूल्यमा बिक्री भएको थियो । यो वन क्षेत्रमा ओखर, पिप्ली, मौवा उत्तिस, कटुस, धुपीसल्ला, सिल्टीमुर, पाउलोनिया जातका बिरुवा उनले लगाएका छन् । वन क्षेत्रमा नम्वरिङ गर्नुका साथै वर्षेनी उक्त वन क्षेत्रबाट अलैँची उत्पादन समेत गर्दै आएका छन् ।
प्राकृतिक रूपमा रहेको वनलाई थप व्यवस्थापन गरेर हराभरा बनाउन गरिएको प्रयासले जिल्लास्तरमा प्रशंसा बटुले पनि यो पटक राष्ट्रिय चर्चा समेत पाएकोमा कुसुम खुशी व्यक्त गर्नुहुन्छ । राष्ट्रिय पुरस्कार वितरण समारोहमा उनले भने “समग्र इलाम जिल्लाको वन संरक्षणमा यहाँको वन उदाहरणीय बनेको छ, गर्दा नहुने केही कुरा रहेनछ ।”
निजी वन दर्ता गरेमा त्यस्ता वनको प्रोत्साहनका लागि जिल्ला वन कार्यालयले समेत सहयोग गर्दै आएको छ । जिल्ला वन कार्यालयका अनुसार इलाम जिल्लामा हालसम्म ४७ वटा निजी वन दर्ता भएका छन् ।
निजी वनको संरक्षणका लागि निजी वन सञ्जाल गठन भई त्यसमार्फत थप कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन भएको जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । कुसुम उक्त सञ्जालको कोषाध्यक्ष समेत छन् । निजी वनमा रहेका रूख बिरुवा बिक्री वितरण गर्नुपरेमा जिल्ला वन कार्यालयको समन्वयमा बिक्री वितरण गर्न सकिन्छ ।
इलाम जिल्लामा हाल यस्तो वनमा रेडको कार्यान्वयन भने भएको छैन । कार्बन बिक्रीबापतको रकम भविष्यमा यस्ता वनले पाउने अपेक्षा गर्न सकिन्छ ।
इसिमोडको सहयोगमा रेड कार्यान्वयनका लागि जिल्ला कार्ययोजनाको तयारी भइरहेको जिल्ला वन अधिकृत श्रेष्ठले जानकारी दिए । रासस
प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार ०८:५७