काठमाडौं, ४ साउन । काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा कोइराला परिवारका सदस्य एकमत नभएको हल्ला चलिरहेका बेलामा महामन्त्री डा सशाङ्क कोइरालाको पहलमा बुधवार कोइराला परिवारका कांग्रेसको राजनीतिमा सक्रिय तीन जना सदस्य सशाङ्क, शेखर र सुजाताका बीचमा छलफल भएको छ ।
महामन्त्री कोइरालाको निवास टोखामा तीन जना परिवारका सदस्यहरुले बिहान झण्डै ४ घण्टा छलफल गरेका छन् ।
बिहानको खाना सहित तीन जना नेताहरुवीच आगामी दिनमा कसरी अघि बढ्नेबारेमा गम्भिर छलफल भएको स्रोतले जनाएको छ । डा शेखर कोइरालाका सहयोगी दिनेश थपलियाले आफ्नो फेसबुकको टाइमलाइनमा तीन नेताको फोटो सहित पारिवारिक भेटघाट भएको उल्लेख गरेका छन् । उनले भेटमा मुलुकको राजनीति तथा पार्टीको आन्तरिक राजनीतिका बिषयमा पनि गम्भिर छलफल भएको जनाएका छन् ।
कांग्रेसको १३ औं महाधिवेशनपछि तीन जना कोइराला परिवारको उत्तराधिकारीका बीचमा छलफल भएको थिएन् ।
१३ औं महाधिवेशनपछि पार्टीको नेतृत्व कोइराला परिवार भन्दा बाहिर पुगेको छ । १३ औं महाधिवेशमा कोइराला परिवारको सहयोगमा उम्मेदवार बनेका रामचन्द्र पौडेल पराजित भएपछि कोइराला परिवारमा गम्भिर छलफल भएको यो पहिलो पटक हो ।
महामन्त्री कोइराला पार्टीका संस्थापक नेता वीपी कोइरालाका कान्छा पुत्र हुन भने सुजाता गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । त्यसैगरी डा शेखर केशव कोइराला तथा महिला नेता नोना कोइरालाका पुत्र हुन् । पार्टीमा कोइराला परिवारको विरासत अहिले यीनै तीन नेताले धानेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । अर्का वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवासँग मन्त्रीमण्डल बिस्तारका बिषयमा छलफल हुन नसकी रहेका बेलामा कोइराला परिवारको विरासत धानेका तीन नेताबीचको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।
कोइराला परिवारको नेपालको राजनीतिमा योगदान, पछिल्लो राजनीतिक अवस्था, परिवारका यसअघिका अग्रज एवम् शीर्ष नेताहरुको भूमिका लगायतका विषयमा केन्द्रित रहेर तीन नेताहरुवीच छलफल भैरहेको स्रोतले जनाएको छ । कोइराला परिवारका नेताहरुलाई एकै ठाउँमा राख्नको लागि कांग्रेसका केही प्रभावशाली युवा नेताहरुले पहल गरेका थिए ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसको हैसियत दोश्रो पार्टीका रुपमा स्थापित भएको तथा पार्टीमा चरम गुटबन्दी बढ्दै गइरहेका बेलामा कोइराला परिवारका सदस्यहरुका बीचमा भएको गम्भिर छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार १७:०३