सुर्खेत, ४ साउन । वीरेन्द्रनगर नगरपालिका भैरवस्थान ३ की ८९ वर्षीय पवित्रा गौतम बृद्धभत्ता लिनका लागि ३ दिन देखि वीरेन्द्रनगरमा रहेको लक्ष्मी बैंकमा धाइरहेकी छन् तर पनि उनले अहिलेसम्म बृद्धभत्ता पाउन सकेकी छैनन् । उनले भनिन्, ‘पोहोर साल वडामै पैसा दिएको थियो र हामीलाई सजीलो भएको थियो, यहाँ आउन लागेको ३ दिन भइसक्यो तर अहिलेसम्म पैसा पाइएको छैन ।’ ३ दिन देखि बैंकमा लाइन लाग्दा समेत बृद्धभत्ता नपाउँदा आफुलाई निकै सास्ती भएको उनले बताइन् ।
उनी भन्छिन, ‘यस्तो घाममा हामीलाई दुःख मात्रै बिहानबाट लाइन लाग्दा पनि अहिलेसम्म पालो आएको छैन ।’ वडामै बृद्धाभत्ता बाडेको भए सजीलो हुने बृद्धा गौतमले बताइन् । वीरेन्द्रनगर नगरपालिका खजुरा १० की सरस्वती बोहोराले बैंकमा भत्ता बुझ्ने नियम देखि आफु रुष्ट भएको बताइन् । उनले भनिन्, ‘जनप्रतिनीधीहरुले भोट माग्दा घर घरमै बृद्धाभत्ता पठाइदिन्छौ भनेर भोट मागे तर अहिले हामि बैंकमा आएर लाइन लाग्दा समेत कोही कसैलाई चासो छैन।’ उनका अनुसार विगतमा वडामै भत्ता बाड्ने भएकाले कोही कसैलाई दुख नभएको र अहिले आएर बृद्धबृद्धा बैंकमा लाइन लागेर समेत बृद्धभत्ता सहजै नपाउने गरेको गुनासो गरिन् ।
यस्तै बृद्धभत्ता बुझ्न आएका वीरेन्द्रनगर नगरपालिका ६ का ८८ वर्षिय चन्द्रबहादुर कार्की बृद्धभत्ता बुझ्न आफु २ दिन देखि बैंकमा धाइरहेको बताउँछन् । पहिले वडामै बृद्धभत्ता बुझ्ने कार्कीले अहिले बैंकमा धाउनु पर्दा आफुलाई निकै गाह्रो भएको बताए ।
यसैगरी शारिरीक अपाङ्ग भएका वीरेन्द्रनगर नगरपालिका कोलडाँडाका विर्खबहादुर सेजुवाल अपाङ्ग भत्ता बुझ्न पहिलो चोटी बैंकमा आएको र यसले गर्दा आफुले निकै सास्ती खेप्नुपरेको बताउँछन् । उनले भने, ‘एक त आफैँमा अपाङ्ग छु, भत्ता लिन आएको बिहान १० बजे हो ४ बज्न लाइसक्यो तर अहिलेसम्म पालो आएको छैन ।’ उनले प्रत्येक वर्ष वडामा बुझिने भत्ता अहिले बैंकमा आएर लाइन लाग्नु पर्दा र समयमै पालो नआउँदा सबैले सास्ती व्यर्होनु परेको छ ।
यस्तै वीरेन्द्रनगर नगरपालिका ९ की एकल महिला पदम कुमारी बिक पनि विगत ३ दिन देखि लक्ष्मी बैंकमा भत्ता बुझ्न धाइरहेकी छिन् । उनी भन्छिन, ‘यो वर्षाको समय, खेतीपाती गर्ने समय हो तर हामी भने यता धाइरहेका छौं, पहिले वडामा बाड्थे र सजिलो भएको थियो तर अहिले बैंकमा पैसा लिनुपर्ने भएकाले हामीलाई गाह्रो भएको छ ।’
तीन दिन सम्म बैंकमा धाइरहनु पर्दा पनि पालो नआउँदा बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला लगाएत सबैले सास्ती खेप्नु परिरहेको एकल महिला बिकले बताइन् । आगामी दिनबाट बैंकबाट भत्ता बुझ्नु पर्ने नियम हटाउनु पर्ने र वडामा भत्ता बाँडिनु पर्ने पदम कुमारी बिकले बताइन् ।
यस्तै अर्की एकल महिला शिला सुनारलाई पनि बैंकबाट भत्ता बुझ्ने नियम मन परेको छैन । उसो त वर्षाको समयमा खेतीपातीको चापाचाप परिरहेको बेला बैंकमा लगातार ३ दिन सम्म धाउनु परेको पिंडा सुनाउछिन् वीरेन्द्रनगर नगरपालिका ८ की शिला सुनार । उनले भनिन्, ‘रोपाईको समयमा यता आएर लाइन लाग्नु परेको छ पुरा दिन यतै बितिहाल्छ, के खेतीपाती हुन्थ्यो र ।’
यस्तै गत साल वडामै बृद्धभत्ता बाँडेका कारण बृद्धबृद्धाहरुलाई सहज भएको थियो भने यो वर्षमा वीरेन्द्रनगर नगरपालिकाका १३ वटा वडाको बृद्धभत्ता लक्ष्मी बैंकबाट उपलब्ध हुने भएका कारणले गर्दा बृद्धबृद्धाहरुले निकै सास्ती खेप्नु परेको छ ।
यस्तै लक्ष्मी बैंकका मेनेजर विनित विक्रम सिजापतीले वडा वडामा बृद्धाभत्ता बाँड्दा असली बृद्धबृद्धाहरुले भन्दा पनि अरुले बृद्धाभत्ता बुझ्ने गरेको बताए । उनका अनुसार गाउँमा मृत्यु दर्ता नबनाएका कारणले गर्दा असली भन्दा पनि नक्कली व्यक्तिले बृद्धभत्ता बुझेका कारणले बैंकमा बृद्धभत्ता बुझ्ने नियम बनाएको बताए ।
वीरेन्द्रनगरको १३ वटा वडाको सामाजिक सुरक्षा भत्ता लक्ष्मी बंैकबाट वितरण भएको हुँदा अहिले ८ महिनाको सुरक्षा भत्ता एकै चोटी आएका कारणले गर्दा बृद्धबृद्धाहरुलाई सास्ती भइरहेको उनले बताए ।
बैंकमा सामाजिक भत्ता बुझ्दा नयाँ खाता खोल्नु पर्ने भएकाले धेरैजसो नपढेका बृद्धबृद्धाहरु आउने भएकाले गर्दा र अहिलेसम्म ९९७ वटा खातामा डिटेल नभएको हुँदा सच्याउन गाह्रो भएका कारणले सामाजिक भत्ता वितरणमा ढिलाई भइरहेको उनले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाको १३ वटावडाको गरी ५ हजार २ सयको हाराहारीमा नयाँ खाता खोलिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी नगरपालिका र बैंकसँग पहिले नै सम्झौता भएका कारण बृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता बैंकबाट दिइएको बताउँछन् । उनले आगामी वर्षबाट बृद्धबृद्धाहरुलाई सहजताका लागि वडा वडामै सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिने बताए ।
प्रकाशित मिति: ४ श्रावण २०७४, बुधबार १५:१०