काठमाडौं, ३ साउन । संसदीय समितिले पुनर्निर्माण कार्यलाई तिब्रता दिदै भुकम्प प्रभावितलाई उपलब्ध गराउने भनिएको दोश्रो किस्ता वितरणमा सहजता ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको मंगलबार बसेको बैठकले पुनर्निर्माण कार्यलाई सरोकारित निकायसँग समन्वय गरी तिब्रता दिनुको साथै भुकम्प प्रभावितलाई दोश्रो किस्ता सहज उपलब्ध गराउने व्यवस्था मिलाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको हो ।
झन्झटिलो व्यवस्था, जटिल भवन निर्माण आचारसंहिता लगायतका कारणले पहिलो किस्ता प्राप्त गरेका भुकम्प प्रभावितले दोस्रो किस्ता लिन नसकेको भन्दै भवन निर्माण मापदण्ड लचिलो बनाउनुपर्ने आवाज उठिरहेको बेला समितिले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।
समितिले पहिलो किस्ता लगेकाले दोश्रो किस्ता लिन नआउनुको कारण पत्ता लगाई तत्काल समस्या सम्बोधन गर्न पनि भनेको छ ।
त्यसैगरी सहरी विकास मन्त्रालयको प्राविधिक सहयोगमा स्थानीय सरकारको मातहतमा रही पुनर्निर्माणमा जनशक्ति परिचालन गर्न, गुनासो सुनुवाई प्रभावकारी बनाउन, आवास निर्माणका लागि दिने भनिएको ऋण उपलब्ध गराउन आवश्यक नीति बनाई कार्यान्वयन गर्न अर्थमन्त्रालय र राष्ट्र बैकलाई निर्देशन दिएको छ।
समितिले ७ सय ७५ वटा एकिकृत वस्ती विकासका लागि पहिचान भएका स्थानमा निर्माण कार्य अघि बढाउन, विद्यालय, सरकारी कार्यालय, सम्पदा लगायतको पुनर्निर्माणको कार्यलाई युद्धस्तरमा अघि बढाउन निर्देशन दिएको छ । साथै हरेक महिना समितिमा पुननिर्माणको प्रगति विवरण प्रतिवेदन बुझाउन पनि निर्देशन दिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द पोख्रेलले दक्ष जनशक्ति र पैसाको कमिका कारण पुनर्निर्माणको कामले तिब्रता पाउन नसकेको स्पष्ट पारेका छन् ।
मंगलबार सिंहदरबारस्थित विकास समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोख्रेलले महत्वकांक्षी बजेट बनाईएकाले कामको प्रभावकारीता देखिन नसकेको दाबी गरे । दाताले आफै खर्च गर्ने पैसा पनि प्राधिकरणकै बजेटमा समावेश हुनुले आकार मात्रै ठुलो बनाएको भन्दै उनले अवैज्ञानिक बजेट र योजनावद्ध विनियोजन हुन नसकेकाले अपेक्षित पुर्ननिर्माणको काम हुन नसकेको स्पष्ट पारे । साथै दक्ष जनशक्तिको अभाव पनि मुख्य समस्या रहेको उनले बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख पोख्रेलले तुनात्मक रुपमा पुनर्निर्माणको ढिला नभएको भन्दै सांस्कृतिक धरोहर र सम्पदा बाहेका पुर्ननिर्माण निर्धारित समयमै सम्पन्न हुने विश्वास दिलाए ।
पुनर्निर्माणमा भएको प्रगती बारे जानकारी लिन गरिएको बैठकमा अर्थमन्त्रालयका सहसचिव केवल प्रसाद भण्डारीले मनै नभएका कारण पुर्ननिर्माणको कामले तिब्रता लिन नसकेको बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर अधिकारीले पुरातत्विक सम्पदाहरुको पुनर्निर्माण गर्दा युनेस्कोले प्रश्न उठाएका कारण केही समस्या देखिएको भएपनि ६४ वटा सम्पदाको पुनर्निर्माण कार्य सकिएको जानकारी दिए ।
बैठकमा समिति सदस्यहरुले पुननिर्माणको कार्यले तिब्रता लिन नसकेको, भौगोलिक वस्तुस्थिति भन्दा बाहिर गई अव्यवहारिक र असम्भव प्रावधान सहितको भवन निर्माण मापदण्डका कारण भुकम्प प्रभाविते दोश्रो किस्ता लिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।
समितिले पुनर्निर्माणमा भएको प्रगतीबारे जानकारी लिन मंगलबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अर्थमन्त्रालय लगायत सम्बन्धित निकायका प्रतिनिधिलाई बैठकमा बोलाएको हो ।
प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार १७:४३