काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले निर्वाचनका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नहुने पनि स्पष्ट पारे ।
आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेटमा उनले कानुन निर्माणका लागि संसदमा विधेशक पेश भईसकेको उल्लेख छिट्टै पारित हुने प्रतिवद्धता व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले निर्वाचन क्षेत्र निर्धारण आयोगको काममा पनि अव ढिलाई नहुने उल्लेख गरे । निर्वाचनको तयारीमा जुटन प्रधानमन्त्रीले आग्रह गर्नु भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिए । उनले निर्वाचनका लागि आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नहुने पनि प्रधानमन्त्रीले स्पष्ट पार्नु भएको पनि बताए ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन असार मसान्त भित्रै बनाउन सरकारसँग आग्रह गरेको थियो ।
त्यसैगरी आयोगले आगामी साउन १५ गते भित्र निर्वाचन क्षेत्र निर्धारणको काम पनि सम्पन्न गर्न सरकारसँग आग्रह गर्दै आएको छ ।
बैठकमा आयोगले चरणवद्ध निर्वाचन, त्यसका लागि आवश्यक व्यवस्थापकीय कामको तयारीको बारेमा पनि प्रधानमन्त्री देउवालाई जानकारी गराएको थियो । निर्वाचन आयोगले आगामी असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीलाई पनि अघि बढाएको छ ।
त्यसैगरी आयोगले मंसिर पहिलो साता भित्र प्रदेश सभा, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन गरीसक्ने कार्ययोजना पनि सरकारलाई पेश गरिसकेको छ । निर्वाचन आयोगलाई आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गरीसक्नु पर्ने संवैधानिक बाध्यता छ ।
प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार १९:५२