भक्तपुर, १ साउन । मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि असार सकिए पनि भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी छ ।
अघिल्ला वर्षमा असारको अन्तिम साता नै रोपाइँ सकिने भक्तपुरमा यस वर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा ४० प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ, खुसुङखोला किनारको फाँटमा सिँचाइको सहज सुविधा भएपनि सिरुटार, दधिकोट, गुण्डु, सिपाडोल, ताँथली, सुडाल, नंखेललगायत गाउँमा आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ ।
मनसुन कमजोर भई आवश्यकमात्रामा वर्षा नभएपछि कृषक सुक्खा जमिनमा भए पनि रोपाइँ गर्न बाध्य छन् । बीउ छिपिएर खेर जान लागेपछि सुक्खा जमिनमा भए पनि धान रोप्नु परेको उनीहरु बताउँछन् । परम्परागत राजकुलो मासिएका कारण रोपाइँमा असर गरेको कृषकको गुनासो छ ।
असार सके पनि रोपाइँ गर्न नपाएका चाँगुनारायण नगरपालिका–९, ताथलीका कृषक हरि छुकाले यसपाली मनसुन एकदमै कमजोर भएका कारण ताथली क्षेत्रमा अझै रोपाइँ गर्ने जग्गा बाँझै रहेको जानकारी दिनुभयो । “बीउ छिप्पीसक्यो, अहिलेसम्म रोपाइँ शुरु गर्न पाएको छैन । वर्ष दिन खानका लागि रोप्ने धान समयमा रोप्न नपाएपछि कृषक चिन्तित भएका छन्”– उनले भने ।
सूर्यविनायक नगरपालिका–६, कटुञ्जेका अर्का कृषक सञ्जय खड्काले अघिल्ला वर्षमा असारको दोस्रो सातासम्म रोपाइँ सकिसक्ने खेतमा यसपाली मनसुन साह्रै कमजोर भएका कारण असारको अन्तिमसम्म रोपाइँ शुरु गर्न नसकेको बताए । उनले बढ्दो शहरीकरणसँगै जग्गा प्लटिङ गर्नेले पुख्र्यौली राजकुलो बन्द गरेका कारण रोपाइँमा समस्या आएकाले आकाशे पानीको भर पर्नुपरेको गुनासो गरे ।
सिँचाइका लागि खोलानाला, पोखरी नजिक भएका स्थानमा पम्पसेटमार्फत सिँचाइ गरेर रोपाइँ गरिएको तर आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने ताथली, सुकाल, सिरुटार, गुण्डु, नंखेल, कटुञ्जे, दधिकोट, दुवाकोट, चाँगु, सिपाडोल र चित्तापोल क्षेत्रमा अझै रोपाइँ बाँकी भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानाले जानकारी दिए ।
उनले यस वर्ष भक्तपुरमा पानी नभएका कारण सुक्खा धान रोप्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै रोपाइँकै लागि कृषि कार्यालयबाट जिल्लाका चारैवटा नगरपालिकामा समेट्ने गरी कृषकको समूहमा २० वटा पानी तान्ने पम्प वितरण गरेको जानकारी दिए ।
जिल्लाकोे ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३४८ हेक्टरमा धानखेती गरिन्छ । भक्तपुरमा वार्षिक २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । भक्तपुरमा प्रतिहेक्टर छ दशमलव दुई टन धान उत्पादन हुने गरेको छ जुन नेपालको समग्र उत्पादन प्रतिशतभन्दा दोब्बर हो ।
महिना दिनमै पर्खाल भत्कियो
निर्माण भएको एक महिना नबित्दै सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित बसपार्क जाने सडकको कुँवर गाउँको पर्खाल भत्किएको छ । क्रमागत योजनाअनुसार तीन वर्ष लगाएर करिब रु ३३ लाख खर्च गरेर निर्माण गरिएको सो पर्खाल गत सोमबार भत्किएको हो । सो पर्खाल भत्किएर बाटोसमेत बगाएपछि गुण्डु बसपार्क जाने सवारी आगमनमा समेत बाधा पुगेको छ ।
सो सडकमा गत वैशाखको अन्तिम साता मात्र कालोपत्र गरिएको थियो । पहिलो चरणको स्थानीय निर्वाचनको दुई दिनअघि पूर्वउद्योगमन्त्री महेश बस्नेत र हालका निर्वाचित वडाध्यक्ष एवम् तत्कालीन वडाध्यक्षका उम्मेदवार रवीन्द्र सापकोटाको रोहबरमा कालोपत्र गरिएको थियो ।
सूर्यविनायक नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले क्रमागत योजनाअन्तर्गत निर्माण गरिएको हुनाले पर्खाल हालै निर्माण भए पनि पर्खालको जगको निर्माण भने तीन वर्ष अगाडि नै भएको बताए । वडाध्यक्ष सापकोटाका अनुसार माटो खुकुलो भएको र सो स्थानको उचाइसमेत बढी भएकाले पर्खाल भत्केको हो । “त्यही ठाउँमा पानीको मुहान पनि छ । सडकले बनाएको कालोपत्रमा पानी जाने ठाउँ नभएकाले सबै पानी त्यहीँबाट बगेका कारणले पर्खाल भत्केको हो”– सापकोटाले भने । सम्बन्धित निकायका सबैलाई बोलाएर निरीक्षण गराइसकेको जानकारी दिँदै सापकोटाले पर्खाललाई मजबुत बनाउन रक्षात्मक विधिबाट कार्य अगाडि बढाउने बताए ।
डिभिजन सडक कार्यालयको भिआइपी सडकअन्तर्गत सो सडकमा कालोपत्र गर्दा लापर्बाही गरेका कारण पर्खाल भत्किएको काठमाडौँ उपत्यका विकास प्राधिकरण भक्तपुरका इ गणेश कोजुले बताए । निर्माणाधीन पर्खालमाथि कालोपत्र गर्नेक्रममा रोलिङ गर्दा थर्किएर पर्खाल कमजोर भएर ढलेको उहाँले बताए ।
सडकले कालोपत्र गर्ने क्रममा सडकको पानीको निकाससमेत सोही स्थानमा राखेका कारणले पनि पर्खाल भत्किएको इ कोजुको भनाइ छ । उनले भने, “कालोपत्र गर्दा पानी जाने पाइप जडान नगरेका कारणले पानी सबै फाटेको कालोपत्रबाट भित्र गई माटोलाई खुकुलो बनाएका कारण पर्खाल भत्केको हो ।” क्रमागत योजनाअन्तर्गत २०७३ फागुन २७ गते निर्माण शुरु भएको सो पर्खाल गत जेठ २६ गते मात्र सम्पन्न भएको हो ।
त्यसैगरी अर्का इन्जिनियर महेश शर्माले माथिदेखि आउने सबै पानीको निकाससमेत त्यही छोडिएकाले पनि पर्खाल भत्किएको बताए । प्राधिकरणले लगाएको पर्खालमा नगरपालिकाले ओभरल्याप हुनेगरी थप तीन फिट पर्खाल थपेका कारण पनि थेग्न नसकी पर्खाल भत्केको उनले जानकारी दिए ।
करिब ३० मिटर अग्लो भिरालो स्थानमा बेन्ची आकारमा पर्खाल निर्माण गरिनुपर्नेमा सिधा उठाएका कारण पर्खाल ढल्न पुगेको स्थानीय दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।
पछिल्लो समय पर्खाल निर्माणको कार्य माधव विष्टको अध्यक्षतामा रहेको रातोपाटी युवा समाज उपभोक्ता समितिले गरेको हो भने यसअघि सो पर्खाल सुमन थापा अध्यक्ष भएको गुण्डु युवा समाज उपभोक्ता समितिले गरेको हो । रासस
प्रकाशित मिति: १ श्रावण २०७४, आईतवार १४:५३