काठमाडौं, ३० असार । सत्तारुढ नेपाली कांग्रेसले मतदाता नामावली संकलनको काम स्थानीय तहबाटै गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
नेपाली कांग्रेसका नेताहरुले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग भेटगरी स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गर्न उपयुक्त हुने सुझाव दिएका हुन् । आम मतदातालाई सहज हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न आयोगलाई सुझाव दिइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।
निर्वाचन आयोगले आगामी साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने योजना बनाएको छ । तर, राजनीतिक दलहरुले भने जिल्ला सदरमुकामबाटै मतदाता नामावली संकलन गर्दा आम मतदाताले हैरानी व्यहोर्नु पर्ने अवस्था रहेकोतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएका छन ।
काँग्रेसले साउन महिनाभर मतदाता नामावली संकलन गर्न पनि आग्रह गरेको छ । खेतीपातीको यो बेला १५ दिन भित्रमा मतदाता नामावली संकलनको काम नसकिने भएकाले यसको मिति पनि १५ दिन थप्न आग्रह गरिएको कांग्रेस नेता खाँडले बताए ।
निर्वाचन आयोगले भने साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन र १६ गतेदेखि २० गतेसम्म त्यसको अध्यावधिक गर्ने कार्यतालिकानै सार्वजनिक गरेको छ । मंसिर पहिलो हप्ता भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन समेत सम्पन्न गर्नुपर्ने भएकाले मतदाता नामावली संकलनको कामलाई छिटो सक्ने योजना बनाइएको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारणको काम पनि आगामी साउन १५ गते भित्र गरिसक्न सरकारलाई आग्रह गरिसकेको छ ।
प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार १७:०४