पोखरा, २९ असार । ‘कर्म कर्ण’ आदिवासी जनजाति पत्रकारिता पुरस्कार–२०७४ बाट कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक हुमबहादुर गुरुङ सम्मानित भएका छन् ।
पत्रकारिताका माध्यमबाट आदिवासी जनजातिको उत्थानमा उल्लेखनीय योगदान पु¥याएबापत गुरुङलाई सो पुरस्कारबाट सम्मानित गरेका हुन् । पुरस्कारको राशि रु १५ हजार नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।
समाजसेवी तथा तमु धीं नेपालका अध्यक्ष कर्मा गुरुङद्वारा स्थापित उक्त पुरस्कार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले प्रत्येक वर्ष प्रदान गर्दै आएको छ ।
फोनिज कास्कीद्वारा यहाँ आज आयोजित एक कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, पुरस्कार स्थापना गर्ने कर्मा गुरुङ र फोनिज कास्कीका अध्यक्ष एमबी आस्थाले संयुक्तरुपमा सो पुरस्कार प्रदान गरे ।
कार्यक्रममा ‘जनसेवा श्री पदक’बाट सम्मानित कर्म गुरुङ, अशोक पालिखे, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठसहित स्थानीय तहमा जनजातिबाट प्रतिनिधित्व गर्ने पदाधिकारीलाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकारिताका माध्यमबाट सामाजिक सचेतना र विकासमा महत्वपूर्ण योगदान पु¥याउन सकिने बताउँदै पत्रकारिताको विकासमा महानगरपालिकाले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे ।
समाजसेवी कर्मा गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, कार्यक्रमका सभापति एवम् फोनिज कास्कीका अध्यक्ष एमबी आस्था, पुरस्कार छनोट समितिका संयोजक सरस्वती गुरुङ, फोनिजका सल्लाहकार राजबहादुर गुरुङलगायतले पत्रकारिताका विविध पक्षमाथि प्रकाश पारे । रासस
प्रकाशित मिति: २९ असार २०७४, बिहीबार १८:५८