काठमाडौं, २९ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव तराई/मधेसका लागि विष सरह भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले तराई/मधेसका जनताका लागि विष सरह रहेकाले आफ्नो पार्टीले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिएको पनि स्पष्ट पारे ।
विहीबार काठमाडौंमा तराई–मधेसका बुद्धिजीविसँग अन्तरक्रिया गर्दै उनले सरकारले विषलाई औषधि भनेर तराई/मधेसका जनतालाई थप पीडा दिने गरी संविधान संशोधन प्रस्ताव ल्याएकाले त्यसको विपक्षमा अडान लिनु परेको पनि स्मरण गराए ।
ओलीले सरकारले एमालेलाई मधेस विरोधी भनेर भ्रम फिँजाएको उल्लेख गर्दै एमालेको नीति र कार्यक्रम मधेसविरोधी हो, होइन् खुटयाएर हेर्न पनि आग्रह गरे ।
अध्यक्ष ओलीले पहाड र तराईबीच बलियो एकता कायम गर्न ‘एक मधेसः एक प्रदेश, एक मधेसः दुई प्रदेश’ जस्ता मागको विपक्षमा उभिनुपरेको प्रष्टिकरण पनि दिए । । उनले पहाड र तराईबीच एकता, समझदारी, सद्भाव, सहकार्य गरेर मात्रै मुलुकको राष्ट्रिय एकता र विकासको गतिलाई तीव्र बनाउन सकिन्छ भन्ने कुरामा एमाले दृढ रहेकोे पनि धारणा राखे ।
अध्यक्ष ओलीले सुनकोशी नदी थुनेर तराई/मधेसमा सिँचित हुन्छ भन्ने भ्रम नपाल्न पनि सबैमा आग्रह गरे । उनले मधेसका जनताको हितका लागि आफू नेतृत्वको सरकारले सबैभन्दा बढि बजेटको व्यवस्था गरेको पनि स्मरण गराए ।
अध्यक्ष ओलीले मधेस र मधेसी जनताको विकास नहुनुमा मधेसवादी दलहरुनै बढि जिम्मेवार रहेको दावी समेत गरे ।
प्रकाशित मिति: २९ असार २०७४, बिहीबार १९:२८