जुम्ला, २९ असार । जिल्लामा तरकारी र फलफूल खेती बढी उत्पादन गर्ने आठ कृषकलाई जिल्ला कृषि कार्यालयले पुरस्कृत गरेको छ ।
तरकारीखेतीतर्फ तिला गाउँपालिका–३ की हरिकला रावत, चन्दननाथ नगरपालिका–१ का देवीबहादुर मल्ल, तिला गाउँपालिका– १ का नन्द बोहोरा र चन्दननाथ नगरपालिकाका–१० का मिठु खत्रीलाई नगदसहित पुरस्कृत गरिएको हो ।
त्यसैगरी, फलफूल खेतीतर्फ तातोपानी गाउँपालिका–५ की नन्दादेवी चौलागाईं, सोही गाउँपालिका–३ की उषादेवी शाही, गोठीचौर–५ का गोविचन्द्र गोतामे र गोठिचौर–५ कै नन्दप्रसाद देवकोटालाई नगदसहित पुरस्कृत गरिएको कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले जानकारी दिए ।
कृषकको व्यवसाय, तरकारी, फलफूलको गुणस्तर र उत्पादनको परिमाणलाई आधार बनाएर पुरस्कारका लागि छनोट गरिएको उनले बताए । कार्यालयले ऋणमोक्ष मूल कृषक समूह पातारासी–५ लाई रु पाँच हजार, जनजागृति फलफूल तथा तरकारी उपभोक्ता समूह चन्दननाथलाई रु तीन हजार र बन्दीकोट कृषि उत्पादन कृषक समूह सिंजालाई रु दुई हजारसहित पुरस्कृत गरेको छ ।
कार्यालयले कृषि क्षेत्रमा विशेष योगदान पु¥याउने कृषि विकास कार्यालयका प्राविधिक सहायक हिक्मतराज गिरी र नायब प्राविधिक सहायक धनञ्जय खत्रीलाई समेत पुरस्कृत गरेको छ । गिरीलाई रु पाँच तथा खत्रीलाई रु तीन हजार नगदसहित पुरस्कृत गरिएको हो । रासस
प्रकाशित मिति: २९ असार २०७४, बिहीबार १६:३६