सुर्खेत, २९ असार । छाउपडीप्रथा मुक्त भएको तिन वर्ष भइ सक्दा पनि वीरेन्द्रनगरको पश्चिम गुटुका महिलाहरु फेरी पनि छाउगोठमै बस्न थालेका छन् । छाउगोठ भत्काउने अभियानका क्रममा गोठ भत्किए पनि उनीहरुको सोचाइमा भने अझै परिवर्तन आउन नसक्दा महिलाहरु छाउगोठकै निर्माण गरेर बस्न थालेका छन् ।
गुटुकी शारदा वुढाले श्रीमानले छाउगोठमा नबस भन्दा पनि सासु ससुराको दबावले गर्दा छाउगोठमा बस्नु पर्ने बाध्यता भएको गुनासो गरिन् । उनले आफ्नो छाउप्रथा मुक्त गरिए पनि र आफु शिक्षिका भएपनि आफ्नो सासु ससुराको पुरानो सोच भएका कारण र उनीहरुको दबावले छाउगोठमा बस्नु पर्ने बाध्यता भएको बताउँछिन् ।
यस्तै गुटुकै पार्वती उपाध्यायले आफुलाई छाउगोठमा बस्ने मन नहुँदा नहुँदै पनि बाध्यताले छाउगोठमा बस्नु पर्ने अवस्था आएको बताउँछिन् । उनले भनिन ‘आफुलाई मन नलागेर केही हुँदैन, यहाँ त छुई भएपछि छाउगोठमै बस्नु पर्ने हुन्छ ।’ उनका अनुसार गाउँ घरमा रजश्वला हुँदा घरदेखी केही दुरीमा रहको छाउगोठमै बस्नु पर्ने बाध्यता रहेको छ । पार्वती भन्छिन ‘छाउपडी प्रथा मुक्त भएको बेलामा छाउगोठ भत्कायौ, तर फेरी सबैजना छाउगोठमै बसेकाले म पनि छाउगोठमै बस्न बाध्य भए ।’
गुटुकै २१ वर्षे तुलसी न्यौपाने आफु पनि छाउगोठमै बस्ने गरेको बताउँछिन् । उनका अनुसार छाउपडी प्रथा मुक्त घोषणा गरेपनि त्यहाँ भने लागु हुन सकेको छैन । सुरु सुरुमा अभियानका क्रममा छाउगोठ भत्काइएपनि पछि पछि भत्काइएको छाउगोठलाई निर्माण गरेर बस्न थालीएको तुलसीले बताइन् । उनका अनुसार गुटुमा कतिपय छाउगोठ सहजै नभत्कियोस भनेर बाख्राखोरको माथि छाउगोठ बनाएर बस्ने गरेका छन् ।
यस्तै तुलसीकी सासु मनसरा न्यौपानेले आफुहरु पुर्खौ देखि छाउगोठमै बस्दै आएको र आफ्ना सन्तानहरु पनि छाउगोठमै बस्ने चलन रहेको बताउँछिन् । उनले भनिन् ‘छाउपडी प्रथा मुक्त गर्ने बेला मैले पनि छाउगोठ भत्काएर छुई हुँदा घरमै बसे, तर हामिलाई सुपेन, हाम्रा देउता रिसाए अनी हामि फेरी छाउगोठमै बस्न थाल्यौ ।’
मनसरा आफु रजश्वला भएर घरमा बस्दा आफु लगाएत घरमा सबै काम्ने, बर्बराउने जस्तो भएर देउता लागेको भान भएर फेरी छाउगोठमै फर्किएको बताउँछिन् । उनले आफु मात्रै नभएर पुर्खौ देखि आफ्नो सासु छाउगोठमै बस्दै आएको र आफु पनि छाउगोठमै बस्ने र छोरी, बुहारीलाई पनि छाउगोठमै बसाल्ने गरेको बताइन् । उनले आफुहरुलाई सुरक्षीत होस भनेर बाख्राखोर माथि छाउगोठ बनाएर बस्ने गरेको बताइन् ।
गुटुकै स्वयमसेवक गणेश देउवाले गुटुमा छाउपडीप्रथा मुक्त घोषणा गरिए पनि महिलाहरु छाउगोठमै बस्न बाध्य भएको बताए । उनका अनुसार गुटुमा जती जनचेतनाका कार्यक्रमहरु गरिएपनि छाउगोठमा बस्न भने महिलाहरु अझै छोडेका छ्रैनन । गाउँमा जती शिक्षित महिला पुरुष भएता पनि छाउगोठमा बस्न भने कोहीले नछोडेको स्वयम् सेवक गणेश देउवाले बताए ।
प्रकाशित मिति: २९ असार २०७४, बिहीबार ०८:५४