काठमाडौंँ, २९ असार । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले स्थानीय तहको चुनावमा भाग लिने सङ्केत गरेको छ ।
राजपाले तत्काल संविधान संशोधन नभए पनि आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता, पक्राउ परेकाको रिहाइ, पीडितलाई क्षतिपूर्ति र अपाङ्गता भएकाको व्यवस्थापन तथा जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थप भए चुनावमा भाग लिने सङ्केत गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ भएको वार्तामा सत्तारुढ दलले संविधान संशोधन हुन नसक्ने अवस्थाका विषयमा जानकारी दिएका थिए ।
यद्यपि सत्तारुढ दलका नेताले संविधान संशोधनका लागि प्रयास भने जारी राख्ने आश्वासन राजपा नेतालाई दिनुभएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले दुई नम्बर प्रदेशको चुनावमा भाग लिने सङ्केत गर्दै त्यसका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जाेड दिएका छन् ।
उहाँले संविधान संशोधनका लागि सरकारले प्रयास गरेको हामीले पनि देखेका छाैँ । प्रयास गर्दागर्दै भएन भने केही छैन तर मन्त्रिपरिषद्को निर्णयबाट पूरा हुने माग सम्बोधन हुनुपर्छ, भन्नुभयो । उहाँले वातावरण नबने चुनावमा जान नसकिने स्पष्ट पारे ।
राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले आधारभूत माग पूरा नगरे कसरी चुनावमा भाग लिने भन्दै सरकारले वातावरण बनाउन नचाहेको आरोप लगाउनुभयो ।
संविधान संशोधनमा आफूहरूको अडान यथावत् रहे पनि चुनावमा सहभागी हुन त्यस पहिले वातावरण बन्नुपर्ने उहाँले बताए ।
प्रकाशित मिति: २९ असार २०७४, बिहीबार ०६:५५