काठमाडौं, २८ असार । राजनीतिक दलहरुले मतदाता नामावली संकलनको काम जिल्ला सदरमुकामहरुमा गर्ने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
राजनीतिक दलहरुले मतदाता नामावली संकलन गर्ने श्रावण १ गतेदेखि १५ गतेसम्मको समयसिमा पनि उपयुक्त नभएको पनि स्पष्ट पारेका छन् । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी श्रावण १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामहरुमा मतदाता नामावली संकलन गर्ने र १६ गतदेखि २० गतेसम्म अध्यावधिक गर्ने निर्णय गरेको छ ।
सोही निर्णयका सम्बन्धमा राजनीतिक दलहरुको सुझाव लिन आयोगले बुधबार कान्तिपथस्थित आफ्नै कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने निर्णयप्रति असन्तुष्टि जनाए । उनले गाउँगाउँबाटै मतदाता नामावली संकलनको काम गर्न स्थानीय तहहरुलाई परिचालन गर्ने व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिए ।
नेता पाण्डेले अन्य जिल्लाहरुबाट पनि मतदाता नामावली संकलन गर्न सक्ने यसअघिको व्यवस्थाबाट आयोगपछि हटेकोमा आपत्ति पनि जनाए । उनले जिल्ला सदरमुकाममै मतदाता नामावली संकलन गर्ने काम खर्चिलो पनि हुने भएकाले यसमा पुनर्विचार गर्न पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।
संघीय समाजवादी फोरम, नेपालका नेता डा. शिजवी यादवले मतदाता नामावली संकलनको काममा निर्वाचन आयोग संकीर्ण देखिएको टिप्पणी गरे । उनले स्थानीय तहलाई परिचालन गरेर गाउँगाउँबाटै मतदाता नामावली संकलन गर्न सकिने व्यवस्था गर्न निर्वाचन आयोग उदार र लचिलो हुनुपर्ने पनि स्पष्ट पारे । नेता यादवले मतदाता नामावलीको नाममा जनतालाई दुःख दिने काम निर्वाचन आयोगले गर्न नहुने पनि उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले जनतालाई सजाय दिन काम गर्न नहुने बताए । उनले फोटो खिचेका मतदाताहरुको नामावली छुटाउने काम भएको उल्लेख गर्दै अव त्यसो हुन नदिन निर्वाचन आयोग सचेत हुनुपर्ने आवश्यक्ता पनि औंल्याए ।
निर्वाचन आयोगले देशभरका सबै जिल्ला सदरमुकामका जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामवली संकलन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले मतदाता नामावली संकलनका लागि सहयोग गर्न सबै राजनीतिक दलहरुलाई आग्रह गरे ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभामा १८ वर्ष उमेर पुगेका सबै नागरिकहरुले मतदानमा भाग लिने अधिकार सुनिश्चित गराउन पनि मतदाता नामावली संकलनको काम सुरु गरिएको स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम दर्ता गराउन नागरिकता भने हुनै पर्ने पनि व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: २८ असार २०७४, बुधबार १९:००