काठमाडौं, २८ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बजेट, भावी कार्य योजना र आवश्यक संगठनात्मक संरचना तयार भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्राधिकरणले तयार पारेको बजेट, भावी कार्ययोजना र आवश्यक संगठनात्मक संरचनासहितको प्रस्ताव स्विकृत गरि दिएको हो । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको निर्देशक समितिको बैठकले प्राधिकरणका लागि विनियोजना गरेको १ खरव ४५ अरव बजेट स्विकृत गरेको हो ।
प्रधानमन्त्री अध्यक्ष रहेको निर्देशक समितिले स्विकृत गरेपछि मात्रै प्राधिकरणले विनियोजित बजेट खर्च गर्न पाउने कानुनी व्यवस्था छ । प्राधिकरणको बजेट, कार्ययोजना र आवश्यक सगठनात्मक संरचनाका सम्बन्धमा तयार पारिएको प्रस्ताव आवश्यक निर्देशनसहित निर्देशक समितिबाट स्विकृत भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
बैठकमा प्रमुख प्रतिपक्ष एमाले उपाध्यक्ष एवम् प्राधिकरणका पनि उपाध्यक्ष भीम रावलले पुर्ननिर्माणको काम चुस्तदुरुस्त बनाउन प्राधिकरणलाई सचेत गराएका थिए ।
प्राधिकरणले साउन १ गतेदेखि सोही बजेट र कार्ययोजनाको आधारमा पुनर्निर्माणको कामलाई अघि बढाउनेछ ।
साउन १ गतेदेखि पुनर्निर्माणको कामलाई अझै तीव्र गतिमा बढाउने बाटो तय भएको पनि प्राधिकरणका प्रवक्ता भुसालले स्पष्ट पारिन् ।
प्राधिकरणले तयार पारेको एक वर्षे कार्ययोजनामा गुनासो व्यवस्थापन, निजी आवास निर्माण, विद्यालय, अस्पताल, सम्पदाहरुको निर्माणको कामलाई तीव्रता दिने र भूकम्प प्रभावित र अतिप्रभावित गरी ३१ वटा जिल्लामै आवश्यक संगठनात्मक संरचना निर्माण गर्ने उल्लेख गरिएको छ ।
बैठकमा निर्देशक समितिका उपाध्यक्ष समेत रहेका एमाले उपाध्यक्ष भीम रावलले प्राधिकरणको कामलाई तीव्र गतिमा अघि बढाउने गरी भावी योजना स्विकृत गरिएको बताए । उनले प्राधिकरणको काम सुस्त भएकोमा आलोचना गरे ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्द पोखरेलले प्राधिकरणको हालसम्मको कार्य प्रगतिविवरण प्रधानमन्त्री एवम् निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवा समक्ष पेश गरेका थिए ।
प्राधिकरणले तयार पारेको कार्यप्रगति विवरणमा हालसम्म ४० हजार घर निर्माण गरिएको उल्लेख गरिएको छ । प्राधिकरणले निजी आवास, विद्यालय र सम्पदा निर्माणको कामले गति लिएको दावी गरेपनि अस्पतालहरुको र्निर्माणको कामले भने गति लिन नसकेको स्विकार गरेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले १ लाख १० हजार घर निर्माणको चरणको रहेकोे स्पष्ट पारे । प्राधिकरणले अव भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिवद्धता पनि जनाएको छ ।
प्रकाशित मिति: २८ असार २०७४, बुधबार १३:३३