बनेपा, २७ असार । काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ । कृत्रिम गर्भाधान गरिएकामध्ये करिब ६० प्रतिशतमा सफल भएको पाइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए ।
प्रजननमा विकृत अवस्था पनि आउनसक्ने र यसका धेरै कारण हुनसक्ने उनी बताउँछन् । उनका अनुसार जिल्लाको कोशीपारि क्षेत्रका विभिन्न स्थानलाई प्राथमिकतामा राखेर सापिङमा बाख्राको कृत्रिम गर्भाधान केन्द्र स्थापना गरिएको र त्यहाँबाट धेरै बाख्रापालक कृषकले कृत्रिम गर्भाधानको सुविधा लिएका छन् ।
कोशीपारिको कात्तिके देउराली, माझिफेदा, पोखरीचौरी, सापिङलगायतका क्षेत्र बाख्रापालनका लागि पकेटक्षेत्र मानिन्छ । कृत्रिम गर्भाधान सफल देखिएपछि जिल्लामा पछिल्लो समय बाख्रामा कृत्रिम गर्भाधान गर्नेको बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७२-७३ मा १५७ बाख्रामा र आव २०७३-७४ मा ८२८ बाख्रामा कृत्रिम गर्भाधान गरिएको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले जनाएको छ । जिल्लामा कुल बाख्राको संख्या लाख एक हजार ८८२ रहेको छ ।
त्यस्तै गाईभैँसीमा पनि कृत्रिम गर्भाधानप्रतिको आर्कषण बढ्दो छ ।
आर्थिक वर्ष २०७१-७२ मा २० हजार २५६ र आव २०७२-७३ मा २६ हजार १३० गाईमा कृत्रिम गर्भाधान गरिएको छ ।
आर्थिक वर्ष २०७१-७२ मा दुई हजार ९७४ र आव २०७२-७३ मा तीन हजार ८७२ भैँसीमा कृत्रिम गर्भाधान गरिएको छ ।
आर्थिक वर्ष २०७३-७४ मा २५ हजार ५०१ गाईमा कृत्रिम गर्भाधान भएको छ भने पाँच हजार १०३ भैँसीमा कृत्रिम गर्भाधान भएको छ । जिल्लामा गाईको संख्या एक लाख ४४ हजार ३८९ र भैँसीको संख्या एक लाख ३५ हजार २५६ रहेको छ । रासस
प्रकाशित मिति: २७ असार २०७४, मंगलवार १७:३३