भक्तपुर, २७ असार । भक्तपुर नगरपालिका कमलविनायकमा रहेको सरस्वती विद्यागृह मावि नवदुर्गास्थानमा प्राध्यापक एवम् शिक्षासेवी स्व शारदाभक्त मधिकर्मीको शालिक अनावरण गरिएको छ ।
सरस्वती विद्यागृह मावि र सरस्वती विद्यागृह एलुम्नाई एसोसिएसनको संयुक्त पहलमा विद्यालय प्राङ्गणमा निर्मित उहाँको अर्धकदको शालिक विद्यालयका पूर्व विद्यार्थी, सांसद तथा पूर्व भूमिसुधार सहायक मन्त्री दिनेश श्रेष्ठले सोमबार अनावरण गरेका हुन् ।
सरस्वती विद्यागृहमा २०१९ सालदेखि २०५४ सालसम्म प्रधानाध्यापकका रुपमा कार्यरत समाजसेवी तथा शिक्षाप्रेमी मधिकर्मीले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सम्झनामा विद्यार्थीले शालिक निर्माण गराएका थिए ।
कार्यक्रममा सरस्वती विद्यागृह एलुम्नाई एसोसिएसनका अध्यक्ष एवम् पूर्व विद्यार्थी शिवकृष्ण श्रेष्ठ, भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनकुमार रायमाझी, विद्यालयका प्रधानाध्यापक पुण्यराम सुवाल, स्व शारदाका भाइ तथा साहित्यकार ध्रुव मधिकर्मी, पूर्व शिक्षिका दुर्गादेवी हाडा, पूर्व विद्यार्थी एवम् अधिवक्ता राजु खड्कालगायतले स्व मधिकर्मीले भक्तपुरको शैक्षिक उन्नतिमा पुर्याए योगदानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा स्व मधिकर्मीका धर्मपत्नी नानीछोरीले कार्यक्रम आयोजकलाई सहयोगस्वरुप रु २५ हजारको चेक हस्तान्तरण गरेका थिए । रासस
प्रकाशित मिति: २७ असार २०७४, मंगलवार ०८:३२