काराकास, २५ असार । जेलमा रहेका भेनेजुयलाको विपक्षी दलका नेता लेओपोल्डो लोपेजलाई घरमै नजरबन्दमा रही बाँकी जेल जीवन बिताउन पाउने अुनमति सर्वाेच्च अदालतले दिएको छ ।
भेनेजुयलाको सर्वाेच्च अदालतले शनिबार दिएको अनुमतिबमोजिम उनले आफ्नै घरमा रहेर बाँकी जेल जीवन ब्यतित गर्न पाउने भएकाे हो ।
सर्वोच्च अदालतका न्यायाधिशले उनलाई सन् २०१५ मा नै झन्डै १४ वर्षको कारावास सजाय सुनाएकोले उनी हालसम्म जेलमै थिए ।
तर शनिबार अदालतले बाँकी जेल जीवन घरमै नजरबन्दमा रहेर ब्यतित गर्न पाउने फैसला गरेकाले उनलाई आइतबारबाटै घरमा नजरबन्द सुरु गरिएको अधिकारीले जनाएका छन् ।
उनका वकिल जाभिएर क्रेमाडिसले फैसलाको पुष्टी गर्दै ट्विटरमा लेखेका छन्, “लेओपोल्डो लोपेजलाई उहाँकी श्रीमती र छोराछोरीसँगै घरमै नजरबन्द गरिएको छ ।”
उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउन र कानुनी प्रक्रियालाई सहज तरिकाले अगाडि बढाउन मानवअधिकारबादीको मागअनुसार उनलाई घरमै नजरबन्दमा राख्नुपरेको अदालतले जनाएको छ ।
विपक्षी दलका दक्षिणपन्थी नेता लोपेजलाई अदालतले गत सन् २०१५ को सेक्टेम्बरमा १३ वर्ष नौ महिना सात दिन जेल सजाँयको फैसला सुनाएको थियो ।
उनलाई हिंसा भड्काउन उत्तेजित पारेको, आतङ्क मच्चाएको, आगजनी गरेको र आपराधिक कार्यमा संलग्न भएको लगायतका आरोप लगाइएको छ । रासस-सिन्ह्वा
प्रकाशित मिति: २५ असार २०७४, आईतवार १५:४३