बनेपा, २५ असार । काभ्रेपलाञ्चोकको तीन स्थानमा ग्रामीण प्रविधिको उपयोगले कृषकको जीवनस्तरमा सुधार भएको छ ।
बेथानचोक गाउँपालिकाको ढुङ्खर्कमा भएको स्थलगत निरीक्षणपछि ग्रामीण प्रविधि केन्द्रले धुलिखेलमा आयोजना गरेको वातावरणमैत्री गाउँ विकाससम्बन्धी कार्यक्रममा सरोकारवालाले वैकल्पिक प्रविधिका रुपमा ग्रामीण प्रविधिको उपयोगले विपन्न समुदायका कृषक लाभान्वित भएको बताए ।
ढुङ्खर्कका जितबहादुर श्रेष्ठले गाउँमा विगतमा पुरानो प्रविधिले पिसानीको काम भएकामा अहिले पानीघट्ट सुधार कार्यक्रम लागूभएपछि आधुनिक प्रविधिबाट मकै, कोदो फापरलगायतका अन्नबाली पिसाउने काम भएको बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभु बुढाथोकीले गरिबी निवारणमा जीविकोपार्जनका कार्यक्रमले समुदायलाई फाइदा पुग्ने विचार व्यक्त गर्नुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले वातावरणमैत्री नवीकरणीय ऊर्जालाई स्थानीय तहले संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याउँदै यसलाई गाउँपालिकाको क्षेत्रमा प्रभावकारी बनाउनुपर्ने बताए ।
ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशलाल श्रेष्ठले कार्यक्रम सञ्चालन भएका क्षेत्रमा सुधारिएको चुलो वितरण भएको उल्लेख गर्दै कार्बन न्यूनीकरणका प्रयास भएको जानकारी दिए ।
बेथानचोक गाउँपालिकाका उपाध्यक्ष सरिता लामिछानेले चलालगणेशस्थानका कतिपय भेगमा सुधारिएको चुलो प्रयोग गर्नेको सङ्ख्या कम भएको बताए ।
श्रीलङ्का, बङ्गलादेश, भारत र नेपालमा भएका कार्बन न्यूनीकरण एवम् विपन्न केन्द्रित दिगो वातावरणमैत्री गाउँ विकास कार्यक्रममध्ये नेपालमा सबैभन्दा प्रभावकारी भएको बताइएको छ । वातावरणमैत्री विकल्पअन्तर्गत ढुङ्खर्कबाहेक चलालगणेशस्थान, च्याम्रेङ्वेसीका गाउँमा नवीकरणीय ऊर्जा, जलवायु प्रतिरोधी कृषि प्रणाली, वन तथा वातावरण संरक्षण एवम् फोहर व्यवस्थापनलगायत स्थानीय समुदायको जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा छन् । तीन वर्षसम्म सञ्चालन भएका विभिन्न कार्यक्रममा रु ६३ लाख खर्च भएको छ । रासस
प्रकाशित मिति: २५ असार २०७४, आईतवार ११:४७