पोखरा, २५ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट स्थानीय तहमा निर्वाचित प्रतिनीधिहरुलाई जनताको स्वार्थलाई आफ्नो स्वार्थका रुपमा लिएर काम गर्न निर्देशन दिएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट कास्कीका बिभिन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेललेस्थानीय तहमा निर्वाचित जनप्रतिनीधिका काम हेरेर कांग्रेसको पक्षमा जनमत बन्ने भएकाले असल भएर काम गर्न निर्देशन समेत दिए ।
कांग्रेसको पक्षमा गाउँ–गाउँमा जनमत तयार पार्नका लागि कांग्रेसबाट निर्वाचित जनप्रतिनीधिले निष्पक्ष भएर सवै जनतालाई समान व्यवहार गर्दै कांग्रेस भनेको यस्तो हुन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुपर्ने बताए । उनले अहिलेका स्थानीय तहका प्रतिनीधि जनप्रतिनीधि मात्र नभएर स्थानीय सरकारका प्रतिनीधि भएकाले जिम्मेवारी महशुस गरि अगाडि बढ्न पनि निर्देशन दिए ।
उनले लामो समय स्थानीय तहमा जनप्रतिनीधि नहुँदा भ्रष्टचार बढेको भन्दै सचेत भएका काम गर्न पनि आग्रह गरे । वरिष्ठ नेता पौडेलले कास्कीमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रतिनीधिहरुले शसक्त प्रतिपक्ष अनि शसक्त भिजन प्रस्तुत गर्न समेत सुझाव दिए ।
नेपाली जनताले कांग्रेसको विकल्प खोज्न लागेका हुन कि भन्ने शंका उत्पन्न हुन थालेको भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेस कार्यकर्ताहरुसँग विकल्प नभएको बताए । उनले भने–‘हामी कांग्रेस कार्यकर्तासंग विकल्प छैन् । तर जनतासंग विकल्प छ । हामीले पनि अब कांग्रेसको विकल्प कांग्रेसमा नै छ भनेर देखाउनुपर्छ ।’
वरिष्ठ नेता पौडेलले कांग्रेसका कार्यकर्ताहरुले नेताहरुको मुल्याङकन गरे मात्र नेताहरुले पनि कार्यकर्ताको मुल्याङकन गर्ने भन्दै कार्यकर्ताले नेताको मुल्याङकन गर्न नसक्दा नेतृत्व स्वच्छचारी हुने बताए । उनले आम कांग्रेस कार्यकर्ताले कांग्रेसको विकल्प अन्त खोज्न पर्दैन कांग्रेसमा नै छ भन्ने सन्देश आम जनतामा पुर्याउनुपर्ने स्पष्ट पारे ।
उनले सवै बामपन्थी पार्टीहरु पक्षपातीको भएको अझ एमाले त पक्षपातीको पर्यावाची नै भएकाले बामपन्थीहरुको हातमा सत्ता पुग्दा जनताले न्याय नपाउने पनि उल्लेख गरे ।
प्रकाशित मिति: २५ असार २०७४, आईतवार ११:०७