भरतपुर २४ असार । निर्माणाधीन नारायणगढ-मुग्लिन सडक असार २५ गते आइतबारदेखि रातको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा बिहीबार भरतपुरमा बसेको सर्वदलीय बैठकले नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म सवारीसाधन चल्न नदिने निर्णय गरेको हो ।
आइतबार साँझदेखि नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधन साँझ ६ बजेदेखि बिहान चार बजेसम्म र मुग्लिनबाट भरतपुरतर्फ आउने सवारीसाधन साँझ सात बजेबाट बिहान पाँच बजेसम्म बन्द गर्ने निर्णय भएको छ ।
सडक स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि संसद विकास समितिको निर्देशनअनुसार थप सुरक्षाको प्रबन्ध गर्ने र रातको समयमा सडक बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो ।
राति सवारी आवागमन बन्द हुने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न र सम्भव भएसम्म राति पनि सडक विस्तारको काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिने निर्णय भएको प्रजिअ भट्टले बताउनुभयो । बैठकले पहिरोको उच्च जोखिममा रहेका ४४ घर एक साताभित्र स्थानान्तरण गर्ने निर्णयसमेत गरेको छ । निर्माण कम्पनीका प्रतिनिधिले सडक मर्मत र खाल्डाखुल्डी पुर्ने कामबाहेक अरू निर्माणका कार्य रातको समयमा गर्न नसकिने बताएका छन् । वर्षात्को समय र निर्माण सामग्रीको अभावले अरू निर्माण कार्य गर्न नसकिने उनीहरूको भनाइ छ ।
बैठकले निर्माण कम्पनीलाई सडकखण्डमा प्रयोग हुने निर्माण सामग्री ढुंगा, गिट्टी र बालुवा उपलब्ध गराउने निर्णयसमेत गरेको छ । निर्माण कार्यमा प्रयोग हुने औजार, मेसिन र जनशक्तिको अनुगमन गर्न पनि परियोजनालाई निर्देशन दिइएको छ । महिनाको एकपटक निर्माण कार्यको संयुक्त अनुगमन गर्ने निर्णय भएको छ । बैठकमा जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रहरी उपरीक्षक दीपक थापाले ट्राफिक व्यवस्थापनका लागि पाँचजना ट्राफिकसहित २१ जना प्रहरी जनशक्ति थप गरिएको बताउनुभयो । उहाँले सडक सुरक्षाका लागि सडकखण्डका तीन ठाँउमा प्रहरीको र्यापिड सेस्पोन्स टिम (आरआरटी) परिचालन गरी आपतकालीन प्रहरी सेवा सुरु गरिएको र पार्किङका लागि खाली जग्गाको खोजी भइरहेको जानकारी दिनुभयो ।
नारायणगढ—मुग्लिन सडक परियोजनाका इन्जिनियर गोविन्दप्रसाद खनालले संसद विकास समितिको निर्देशनअनुसार १४ दिनभित्र सुरक्षित रूपमा सवारी आवागमनका लागि विज्ञको सुझावको आधारमा प्रतिवेदन बुझाउने बताउनुभयो । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिले निर्माण कार्य ढिलाइ हुनुको कारणबारे निर्माण कम्पनीका प्रतिनिधिको ध्यानाकर्षण गराएका थिए ।
थपिए हवाइ उडान
नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रा जोखिमपूर्ण भएपछि भरतपुर विमानस्थलमा जहाजको उडान संख्या थपिएर दैनिक २० वटा पुगेको छ । भरतपुरबाट राजधानी काठमाडौँ जाने यात्रुको चाप बढेपछि अहिले दैनिक २० वटासम्म उडान हुन थालेको हो । दैनिक ६ वटा उडान हुँदै आएको भरतपुर काठमाडौँ उडान संख्या अहिले दैनिक २० वटासम्म पुगेको भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले जानकारी दिनुभयो ।
‘सामान्य अवस्थामा दैनिक ६ वटा उडान हुँदै आएको थियो तर अहिले ज्यादै चाप भएको छ’, गौतमले भन्नुभयो, ‘बिहान सात बजेदेखि बेलुका ६ः३० बजेसम्म एयरपोर्ट खुला रहन्छ । यही समयमा हवाइ उडान भइरहेको छ ।’ उहाँका अनुसार, बुद्ध एयरलायन्सले दैनिक १० वटा उडान गर्दै आएको छ । यति एयरलायन्सको दैनिक नौ र सिम्रिक एयरलायन्सको दैनिक एक उडान छन् । नियमित उडानसँगै अतिरिक्त उडान संख्या पनि बढेको कार्यालयले जनाएको छ ।
भरतपुरबाट काठमाडौँ जान एक हप्ता अगाडि नै टिकट काट्नु पर्ने अवस्था छ । एयरलायन्सको काउन्टरका व्यक्तिले फोन नै बन्द गरेर बस्नु परेको छ । टिकट मिलाइदिनु पर्यो भन्दै सयौँ फोन आउने गरेको उनीहरू बताउँछन् । राजधानी जाने बाटोमा समस्या आएपछि त्यसको असर हवाई यातायातमा परेको हो।
प्रकाशित मिति: २४ असार २०७४, शनिबार ०७:१५