कञ्चनपुर, २३ असार । सामाजिक कार्यका लागि सधैँ अग्रसर हुने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका दिलबहादुर ऐरलाई नसम्झने सायदै कोही होलान् । विकास निर्माणका कार्य अगाडि बढाउन, कुरीतिविरुद्ध जनचेतना छर्न र कसैलाई पिरलो परे सहयोग गर्न अगाडि सर्न सधैँ तत्पर रहँदै आएका दिलबहादुर शुक्लाफाँटा नगरपालिकाको प्रमुख पदमा छानिएका छन् ।
झैझगडा जित/जितको भावनाले मेलमिलाप गराउने र सरकारी कामकाज गराउनका लागि सर्वसाधारणले सधैँ सम्झने उनलाई नगरवासीले नगर प्रमुखको जिम्मेवारी सुम्पेका छन् । समाज सेवालाई निःस्वार्थ भावनाले गर्न तम्तयार रहने उहाँले नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिई सहजै प्रतिस्पर्धीभन्दा एक हजार बढी मत ल्याई जित हासिल गरेका छन् ।
परिवारको पीरमर्कालाई थाती राख्दै जनसेवालाई मूल मर्म सम्झने उहाँलाई नगरवासीले अमूल्य मत दिई विजयी बनाएको झलारी बजारमा व्यवसाय गर्दै आएका शिवराज भट्टले बताए । पेशाले पशु प्राविधिक रहेका उनले व्यवसायको रकमसमेत समाजसेवामै खर्च गरेर समाजका लागि उदाहरणीय कार्य गरेको उनले बताए । “विभिन्न पार्टीमा आबद्धहरुले समेत आफ्नोभन्दा राम्रोलाई भोट भन्दै उहाँको सामाजिक योगदानको कदर गरी मतदान गरी विजयी गराएका छन्”, उनले भने ।
नगरपालिकाका १२ वटै वडाबाट प्रतिस्पर्धीभन्दा बढी मत ल्याई सबैको सहानुभूतिले उनी विजयी भएको भटृको भनाइ रहेको छ । “पार्टीगत विभेद नगरी सधैँ झँै जसरी सामाजिक कार्यमा तेरो मेरो नभनी अग्रणी भूमिका खेल्दै आउनुभएको थियो, त्यसरी नै नगरको विकासका लागि अगाडि सर्नुपर्ने हुन्छ”, शैक्षिक क्षेत्रमा क्रियाशील वसन्त पाण्डेयले भने ।
नगरको प्रमुख चुनौतीका रुपमा रहेको सडक सुधार, नदीमा पुल निर्माण, खानेपानीको व्यवस्था, ढलनिकास, विद्युत्को सहज आपूर्ति, छाडाचौपाया व्यवस्थापन, युवाहरुलाई रोजगार प्रदान गर्नका लागि तत्काल नगर प्रतिनिधिको सहमतिमा कार्य अगाडि बढाउनुपर्ने उनले बताए । “यिनै कार्यका लागि उgले लामो समय व्यतित गरेकाले सहजै कार्य गर्न सक्नेमा आशावादी छौँ”, उनले भने ।
समाज सेवासँगै विकास, भ्रष्टाचारमुक्त समाज र स्वरोजगारलाई मूलमन्त्र ठानी जनताको भावनाको कदर गर्दै अगाडि बढ्ने नवनिर्वाचित प्रमुख ऐरले बताउनुभयो । विपन्नताको अवस्थामा रहेका जनजाति आदिवासी, ज्येष्ठ नागरिक, महिला, अपाङ्ग, दलितको उत्थानका लागि कार्य अगाडि बढाउनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने उनले बताए।
“वर्षौैंदेखि समस्याका रुपमा रहेको निकुञ्ज विस्थापितको पुनःस्थापना, भूमिहीनको समस्या, मुक्त कमैया, मुक्त हलिया, मुक्त कमलरी पुनःस्थापना, बालश्रम उन्मूलन लगायतका कार्यलाई समेत प्राथमिकताका साथ अगाडि बढाउन प्रतिबद्ध छु”, उनले भने ।
सफा, सुन्दर शहर स्थापना गर्ने र पर्यटकीय नगरीका रुपमा शुक्लाफाँटालाई चिनाउनका लागि नगरवासीको चाहनामा कार्य अगाडि बढाउने सोच उहाँको रहेको छ । संविधानमा टेकेर नगरवासीलाई कानुनी शासनको प्रत्याभूति गराउनसमेत पछि नपर्ने उनी बताउँछन् ।
विसं २०३६ मा विद्यार्थी छँदा नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिमा संलग्न भएका ऐरले विसं २०४८ मा पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेका थिए । पार्टीको दुई पटक क्षेत्रीय सभापति र तीन पटक जिल्ला कार्यसमिति सदस्य रहेर कार्य गरेका छन् ।
सामाजिक सेवाको कार्य गरेबापत गोरखा दक्षिण बाहु चौथोबाट समेत उनी विभूषित भइसकेका छन् । जनआन्दोलन ०६२÷६३ मा अग्र मोर्चामा रहेर आन्दोलनको अगुवाइ गर्दा उनी घाइतेसमेत भएका थिए । रासस
प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार ११:१५