काठमाडौ २३ असार । तराईका जिल्लामा प्रहरीले आन्तरिक शुद्धीकरण अभियान सुरु गरेको छ । आपराधिक गिरोहसँग प्रहरीको मिलेमतोको उजुरी बढेपछि मुख्यालयले कारबाही सुरु गरेको हो । पर्सा र सप्तरीका एसपीलाई जिम्मेवारीबाटै हटाएर प्रहरी मुख्यालयले छानबिन गरिरहेको छ । पर्साका गोविन्द साह र सप्तरीका अनुराग द्विवेदीलाई मुख्यालयले मंगलबार तानेको हो । प्रहरी महानिरीक्षकको सचिवालयले उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘गम्भीर उजुरी आएपछि मुख्यालय तानेर अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, ‘उजुरीमा सत्यता भेटिएमा विभागीय कारबाही हुन्छ ।’
दुवै एसपीले तस्करीमा सघाएको र शान्तिसुरक्षामा ध्यान नदिएको उजुरी परेको छ । पैसा लिएको प्रमाणसहित केही व्यक्तिहरूले उजुरी गरेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको हो । दुईजना एसपीलाई तत्कालै ती जिल्लामा पठाउने भनिए पनि बिहीबारसम्म कसैलाई पठाइएको छैन । गृह मन्त्रालयका अधिकारीले थप छलफल गरेर मात्र पठाउने बताएपछि दुवै जिल्ला एसपीविहीन बन्न पुगेका छन् । तानिएका एसपीद्वय फेरि आफैँ जान राजनीतिक लबिङमा लागिसकेका छन् । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको सिफारिसमा उनीहरू तराईको जिल्लामा इन्चार्ज भएका थिए ।
तस्करीमा सघाएको आरोपमा डिएसपीमाथि छानबिन
नेपाल–भारत सीमामा तस्करीमा सघाएकै आरोपमा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेन्द्रबाबु रेग्मी पनि छानबिनमा तानिएका छन् । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले उनलाई त्यहाँबाट हटाएर छानबिन थालेको हो । गम्भीर उजुरीका आधारमा अनुसन्धान थालिएको क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका डिआइजी गणेश केसीले बताए । सीमामा तस्करीमा संलग्न केही व्यक्तिलाई सहयोग गरेको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको हो । तराईका जिल्लामा आन्तरिक शुद्धीकरण अभियान चलिरहेको डिआइजी केसीले बताए ।
दुई साताअघि क्षेत्रले जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर उमाशंकर यादवमाथि कारबाही सुरु गरेको थियो । त्यस्तै, सइ रामबालक यादवलगायत अन्य चारजना जुनियर प्रहरीलाई पनि गुल्ममा सरुवा गरी छानबिन भइरहेको छ ।
त्यस्तै, सप्तरीका एसपीसँगै तल्लो तहका प्रहरी पनि कारबाहीमा परेका छन् । सखरा चौकीका सइले बिहारतर्फ मदिरा तस्करीमा सघाएको खुलेपछि उनलाई कारबाही गरिएको छ । प्रायः सादा पोसाकमा काम गर्ने प्रहरीहरूले बदमासी गरेको पाइएको र कारबाही भइरहेको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआइजी रमेश भट्टराईले बताए ।
तराईका जिल्लामा भारतबाट तस्करी हुने भएकाले प्रहरीको मिलेमतो देखिने गरेको छ । त्यही कारण तराईका जिल्लामा इन्चार्ज बन्न चलखेल हुने गरेको छ । पछिल्ला महिना तराईका जिल्लामा आर्थिक अनुशासनहीनता मौलाएको रिपोर्ट प्रहरी मुख्यालयमा पुगेको छ । बारा, रौतहट, सिरहा, महोत्तरी, धनुषा, रूपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लाका प्रहरीविरुद्ध धेरै उजुरी परेको प्रहरी मुख्यालयका एक अधिकारीले बताए ।
घुसकाण्डमा ट्राफिकका इन्स्पेक्टर निलम्बित
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर विमलकुमार उपाध्यय घुस काण्डमा निलम्बनमा परेका छन् । तीन दिनअघि मुख्यालयले उनलाई निलम्बन गरी थप विभागीय कारबाही थालेको हो । घुस असुलेको प्रमाण भेटिएपछि उनी निलम्बनमा परेका हुन् ।
धनकुटा र इलामका एसपीलाई स्पष्टीकरण
पुलिसिङमा लापरबाही गरेको तथा आर्थिक लेनदेनसम्बन्धी उजुरी आएपछि क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले दुई एसपीलाई स्पष्टीकरण सोधेको छ । धनकुटाका सुदीपराज भण्डारी र इलामका एसपी सुशीलकुमार यादवलाई स्पष्टीकरण सोधिएको हो । इलामका एसपी यादवले केही दिनअघि बन्दको दिनमा ढिलासम्म प्रहरीको ड्युटी नै खटाएका थिएनन् । जसका कारण बन्दकर्ताले दुईवटा बस जलाइदिएका थिए । त्यस्तै, धनकुटाका एसपीले पुलिसिङमा गम्भीर लापरबाही गरेपछि क्षेत्रले छानबिन थालेको स्रोत बताउँछ । त्यस्तै, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले संखुवासभाको वडा प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर गणेशमान श्रेष्ठलाई लिखित सचेत गराएको छ ।
सिपाहीसँग असुल्ने इन्स्पेक्टर जागिरबाट हटाइए
आफ्नै प्रहरी कर्मचारीसँग घुस लिएको आरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरूसँग पैसा असुलेका थिए । कर्मचारी प्रशासन शाखामा कार्यरत उनले तराईका विभिन्न जिल्लामा कार्यरत सिपाहीसँग पैसा लिएका थिए । पैसा दिएर पनि बढुवा नभएपछि सिपाहीहरूले उनीविरुद्ध उजुरी गरेका थिए । मध्यक्षेत्रका तत्कालीन डिआइजी पशुपति उपाध्यायले पैसा खाएको थाहा पाएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए । प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार खनाललाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी गृहले हालै जागिरबाट हटाएको हो । खनालको जागिर अवधि करिब एक वर्ष मात्र बाँकी थियो ।
प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार ०७:०१