काठमाडौं, २२ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई बलियो बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री देउवाले सबै भाषा र समुदायबीच सदभाव कायम हुनेगरी समाचार सम्प्रेषण गर्न पनि संचारकर्मीहरुसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेपालमा जति प्रेस स्वतन्ता विश्वका अन्य मुलुकमा नरहेको दावी गरे । उनले प्रेस स्वतन्त्रता भएकै कारण नेपालमा जति धेरै संचारकर्मीहरु युरोपमा समेत नभएको पनि स्पष्ट पारे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टद्धारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको विहिबार काठमाडौंमा सार्वजनिक गर्दै उनले सही सूचना पाउनु नागरिकको अधिकार भएको पनि स्मरण गराए ।
प्रधानमन्त्री देउवाले सत्य, तथ्य समाचार प्रम्प्रेषण गर्न संचारकर्मीहरु गम्भिर हुनुपर्ने आवश्यक्ता औंल्याए । उनले समाचार सत्य, तथ्यपरक नहुँदा पाठकलाई ठूलो अन्याय हुनेतर्फ संचारकर्मीहरुको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री देउवाले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले त्यो अधिकारलाई उपयोग गर्न पनि संचारकर्मीहरुले सत्य, तथ्य समाचार सम्प्रेषण गर्ने बेला आएको पनि उल्लेख गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रेस स्वतन्त्रताको हकलाई संविधानले नै सर्वोपरी हकको रुपमा उल्लेख गरेपनि त्यसलाई निर्वाध रुपमा उपयोग गर्ने अवस्था नेपालमा अझै नरहेको बताए । उनले प्रेस स्वतन्त्रता र मानव अधिकारबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै त्यसको उपयोग निर्वाध रुपमा गर्न पाउनुपर्ने उल्लेख गरे ।
पुस्तकमा नेपालको प्रेस स्वतन्त्रताको विगत र वर्तमान अवस्थाको चर्चा गरिएको छ ।
पुस्तकमाथि टिप्पणी गर्दै पत्रकारिताका प्राध्यापक पी खरेलले पुस्तक अनुसन्धानमा आधारित यो पुस्तक निकै सान्दर्भिक भएको बताउँदै मिडिया जहिलेपनि निष्पक्ष रुपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरे ।
पुस्तकमा लोकतन्त्र र प्रेस स्वतन्त्रता, नेपाली पत्रकारिता र प्रेस स्वतन्त्रताको विकास, मिडिया सम्बन्धी कानूनी व्यवस्था, नियमन प्रणालीको बारेमा विस्तृत चर्चा गरिएको छ । यस्तै नेपाली मिडियाको स्थिति र पत्रकारको सुरक्षा, मिडियामा लगानी, आर्थिक वातावरण र प्रेस स्वतन्त्रतको बारेमा पनि उल्लेख गरिएको छ ।
पुस्तकमा डा.विष्टले नेपालको संविधानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई उदारतापूर्वक समेटिएको र सरकारी हस्तक्षेपका सम्भावनाहरुलाई धेरै हदसम्म सिमति गरेर प्रेस स्वतन्त्रताको प्रत्याभूतिलाई बलियो बनाइएको उल्लेख गरेका छन् । छापाखाना तथा प्रकाशन ऐन, राष्ट्रिय प्रसारण ऐन लगायतका कानूनहरु पुनरावलोकन नभएका कारण कानूनी प्रत्याभूतिको आधारहरु धेरै बलियो नभएको लेखकको अनुसन्धानको निश्कर्ष छ ।
लेखकले सर्वेक्षण र अन्तर्वार्ताका आधारमा कानूनी तथा नीतिगत पक्ष र अभ्यासलाई हेर्दा नेपाली प्रेसको अवस्था आंशिक स्वतन्त्र छ भन्ने पुष्टि गरेका छन् ।
प्रेस स्वतन्त्रता सम्बन्धी नीतिगत, कानूनी र व्यवहारिक क्षेत्रमा सुधार गरेर नेपाललाई प्रेस स्वतन्त्रताको दृष्टिले स्वतन्त्रको कोटीमा पुर्याउन पहल गर्न आवश्यक छ भन्दै पुस्तकमा प्रेस स्वयंले पनि सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई आत्मसाथ गरी व्यावसायिक अभ्यासमा थप सुधार गर्नुपर्ने खाँचौ पनि औल्याइएको छ ।
पत्रकार, पत्रकारिताका अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी र अभियान्तका साथै पत्रकारिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीका बारेमा रुची राख्ने हरेकाका लागि उपयोगी हुने पुस्तक सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा सांङ्ग्रिला पुस्तक प्रालिले प्रकाशित गरेको हो । ३१३ पृष्ठको पुस्तकको मूल्य ४७५ रुपैयाँ छ ।
प्रकाशित मिति: २२ असार २०७४, बिहीबार १९:१२