काठमाडौं, २१ असार । गृहमन्त्री जनार्दन शर्माले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतका लागि उचित व्यवस्था गरिएको बताएका छन्।
गृहमन्त्री शर्माले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतका लागि गृह मन्त्रालयले आवश्यक जनशक्ति तथा स्रोत र साधनको परिचालन गरेको पनि स्पष्ट पारेका हुन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै उनले सरकारले स्थानीय तहमा पनि उपलब्ध जनशक्ति, स्रोत र साधनलाई परिचालन गरेर बाढि, पहिरो र डुवानमा परेकाहरुको खोज, उद्दार र राहतको कामलाई व्यवस्थित बनाइएको पनि उल्लेख गरे ।
गृहमन्त्री शर्माले बाढी, पहिरो र डुवानमा परेकाहरुलाई राहत दिने व्यवस्था जिल्ला दैवीप्रकोप समितिमार्फत मिलाइएको पनि जानकारी दिए । सरकारले विपद व्यवस्थापनका लागि केन्द्रिय स्तरमा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रमार्फत सूचना संकलनको काम गरिरहेको छ ।
गृहमन्त्री शर्माले विपद् व्यवस्थापनका लागि पाँच वटा विकास क्षेत्र र ४९ वटा जिल्लामा स्थानीय आपत्तकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको जानकारी गराएका छन् । उनले बाढी, पहिरो र डुवानमा परी ज्यान गुमाएकाहरुका परिवारलाई क्षतिपूर्ति स्वरुप जनही १ लाखका दरले राहत रकम उपलब्ध गराइएको बताए । सरकारले बाढी, पहिरो र डुवानमा परी ज्यान गुमाएकाहरुको काजक्रीया खर्चवापत १० हजार रुपैयाँ पनि उपलब्ध गराएको छ ।
गृह मन्त्रालयले बाढी, पहिरो र डुवानमा परेकाहरुको खोज तथा उद्दार कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरेको छ । गृहमन्त्री शर्माले पीडितलाई राहत दिने कार्यमा निजामती सेवाका कर्मचारीहरु आवश्यक्ता अनुसार परिचालन गरिएको पनि स्पष्ट पारेका छन् ।
गत १३ गते यता आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गरी १५ जनाको ज्यान गएको, ७ जना वेपत्ता भएको र ५ जना गम्भिर घाइते भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । सांसदहरुले वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेकाहरुको खोजी, उद्दार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका छन् ।
प्रकाशित मिति: २१ असार २०७४, बुधबार १८:३४