कञ्चनपुर, २१ असार । तत्कालीन विद्रोही माओवादी सेनाका प्लाटुन कमान्डर रहनुभएका बहादुर महरालाई बुलेटको भन्दा ब्यालेटको लडाइँ पेचिलो भएको अनुभव छ ।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ का महराले माओवादी सेनाका प्लाटुन कमान्डर भई आठ वर्ष सङ्घर्षमय जीवन बिताएका थिए ।
समाज परिवर्तनका लागि बहिर्गमनमा परेका महराले स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट शुक्लाफाँटा नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिए र विजयी पनि भए ।
“बुलेटको लडाइँ लड्दा हतियार र विचार एकैसाथ हुँदा विजय पाउन त्यती कठिन थिएन,” उनले भने, “ब्यालेटको लडाइँमा बनाएको सङ्गठन छिन छिनमै प्रतिद्वन्द्वीले भत्काउँदा अधिक सङ्घर्ष गर्नु पर्यो ।”
बुलेटको लडाइँमा विरोधीको आमने सामने भएर लडाइँ लडिने गरिएको थियो उहाँले विगतको अनुभव सुनाउँदै भने, “ब्यालेटको लडाइँमा छद्म भेषमा विरोधीले आक्रमण गर्दा अप्ठेरो पर्यो ।”
राजनीतिमा जति षडयन्त्र गरेर चुनाव जित्ने प्रयत्न गरिए पनि सटिक योजना, विचार र जनपक्षीय निर्णय गरेर जाँदा जनताले पत्याउने गरेको उनको अनुभव छ । “चुनाव जित्नुअघि जनतासँग गरेका वाचा पूरा गर्न कटिबद्ध भएर लाग्नका लागि योजना बनाउनमा जुटेका छौँ”, उनले भने ।
ऐलानी जग्गा दर्ता गर्ने, सडकको बिग्रँदाे अवस्थामा सुधार गर्ने, धार्मिकस्थलको विकास गर्ने, सकुम्वासी समस्या समाधानका लागि सम्बन्धित निकायलाई दबाब दिई कार्य अगाडि बढाउने, चुरे क्षेत्रको दोहन रोक्ने, भू–क्षय नियन्त्रण गर्न योजना बनाई कार्य गर्ने चुनावी वाचालाई पूरा गर्ने उनको योजना छ ।
नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने, वन्यजन्तुले गर्ने क्षति न्यूनीकरण गर्ने र दरबन्दी विहीनताको आधारमा सञ्चालन हुँदै आएको विद्यालयमा दरबन्दीसहित शिक्षकको व्यवस्था गर्ने योजना पूर्वलडाकु महराको छ ।
सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुगेकाले जनताको चाहना बमोजिम कार्य अगाडि बढाउने योजना रहेको उनले बताए ।
गाँउकै बैजनाथ सामुदायिक वनका अध्यक्षसमेत रहुनभएका महरा स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–८ को वडाध्यक्ष ६४१ मत ल्याएर विजयी भएका छन् । रासस
प्रकाशित मिति: २१ असार २०७४, बुधबार १२:५३