काठमाडौं, १९ असार । सांसदहरुले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्दार गर्न सरकारसँग माग गरेका छन ।
नेपाली कांग्रेसकी सांसद विन्दादेवी आले रानाले कास्कीमा आएको बाढी र पहिरोले ३ जनाको ज्यान गएको र दर्जनौ घर परिवार विस्थापित भएको उल्लेख गर्दै सरकारसँग तत्काल राहत र उद्दार गर्न माग गरिन् । कास्कीका सांसद समेत रहेकी उनले बाढी र पहिरोको नियन्त्रण गरी पीडित परिवारलाई आपत्तकालीन राहतको व्यवस्था गर्न ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
एमालेका सांसद रविन्द्र अधिकारीले कास्कीको विभिन्न ठाउँमा आएको प्राकृतिक प्रकोपका कारण मानव बस्ती जोखिममा परेको उल्लेख गर्दै जोखिम न्यूनिकरणका लागि तत्काल योजना बनाउन पनि सरकारसँग माग गरे । कास्की क्षेत्र नम्बर ३ का सांसद समेत रहेका उनले पोखराको सेती नदी किनार भाँसिदा मानवबस्ती जोखिममा परेकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकारसँग माग गरे ।
नेकपा माओवादी केन्द्रका सांसद अग्नीप्रसाद सापकोटाले देशका विभिन्न भागमा आएको बाढी, पहिरो, डुबान र सडक दुर्घटनाका कारण भएको क्षति तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे ।
सांसदहरुले सप्तरी, कास्की, दोलखालगायतका जिल्लामा आएको बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन । व्यवस्थापिका संसदको सोमबारको बैठक सुरु हुनेवित्तिकै विशेष समय लिएर बोल्दै कांग्रेस सांसद सुरेन्द्रप्रसाद यादवले शुक्रबार राति आएको अविरल वर्षाले सप्तरीमा १५ सय घर डुवानमा परेको उल्लेख गर्दै तत्काल राहत तथा उद्दारको काम गर्न सरकारसँग माग गरे ।
कांग्रेस सांसद यादवले सप्तरीको तिलाठीमा २ सय ३० वटा घर डुवानमा परेकाले उनीहरुलाई तत्काल उद्दार गरी राहत उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराए । सप्तरी क्षेत्र नम्बर ६ का सांसदसमेत रहेका यादवले तराईमा देखिएको डुवानको समस्या समाधान गर्न सरकारले तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यक्ता पनि औल्याए ।
विगत ४ दिनयता अविरल वर्षाका कारण आएको बाढि, पहिरो र डुबानका कारण सप्तरी, कास्की, दोलखा लगायतका जिल्लामा मानवीय बस्ती जोखिममा परेका छन ।
प्रकाशित मिति: १९ असार २०७४, सोमबार १९:४९