चितवन १९ असार । काठमाडौं र पोखरालाई अन्य क्षेत्रसँग जोड्ने मुख्य मार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडक अहिले जोखिम मार्ग बन्दै गएको छ । दैनिक ९ हजारभन्दा बढी सवारीसाधन गुड्ने यो सडकमा घण्टौं जाम हुने, पहिरोका कारण लामो समय बन्द हुने र दिनहुँजसो दुर्घटना हुन थालेको छ ।

यस वर्ष असार लागेपछि मुग्लिननजिकै कालीखोला क्षेत्रमा दैनिक पहिरो खस्ने गरेको छ । पहिरोका कारण बन्द यातायात खुल्न ३४ घण्टासम्म लागेको छ । बाटो फराकिलो बनाउन सुरु भएपछि पहिरोमा परेर तीनजना प्रहरीसहित ६ जनाको मृत्यु भइसकेको छ । बेपत्ता एक प्रहरीको अवस्था अझै अज्ञात छ । दुई वर्षदेखि सडक फराकिलो बनाउन विस्तारको काम सुरु भएदेखि जामको समस्या हुँदै आएकोमा यस वर्ष पहिरोको थप संकट देखिएको छ ।
एकातिर सडक विस्तारको काम समयमा नसकिनु र अर्कोतर्फ ठूला पहिरो दैनिकजसो सडकमा झर्नुले यात्रुहरू डरैडरमा यो सडकमा यात्रा गर्न बाध्य भइरहेका छन् ।सडक विस्तारका लागि तोकिएको समयभन्दा दुई महिना बढी समय बितिसक्दा पनि आधा मात्र काम सकिएको छ । सडक फराकिलो बनाउन पहाड काटिएको क्षेत्रमा वर्र्षामा हिलो पहिरो र हिउँदमा सुक्खा पहिरो खस्ने गरेको छ । जसका कारण यात्रु र सवारीसाधनमाथि थप जोखिम बढेको छ ।
सडक विस्तारका क्रममा सडक किनारमा राखिएका बालुवा, गिटी, सिमेन्टलगायतका निर्माण सामग्री व्यवस्थापन हुन नसक्दा अर्को जोखिम देखिएको छ । निर्माणका क्रममा उड्ने धुलोले यात्रुहरू हैरानीमा छन् । हिउँदमा हिलो र वर्षात्मा हिलोकै कारण समस्या बढ्दै गएको छ ।
एसियाली विकास बैंकको ३ अर्ब रुपैयाँ ऋण सहयोगमा सो सडकलाई एसियाली मापदण्डअनुरूपको दुई लेनको बनाउने काम सुरु भएको हो । झन्डै ४० वर्षअघि तयार भएको सो सडक त्यो बेला दैनिक १ हजार गाडीको चाप थेप्न सक्ने अवस्थालाई ख्याल राखेर निर्माण भएको थियो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत पनि सञ्चालित नारायणगढ–मुग्लिन सडक आयोजना हो । सडक निर्माणको जिम्मा तीनवटा कम्पनीले लिएका छन् ।
नारायणगढ–मुग्लिन सडकको महŒव
नारायणगढ–मुग्लिन सडकखण्ड ३६ किलोमिटर लामो छ । आर्थिक वर्ष २०७२÷७३ को तथ्यांकअनुसार यो सडकमा दैनिक अधिकतम ७ हजार ३ सय ७७ सवारीसाधनले आवतजावत गरेका थिए ।
अहिले एसियन नेटवर्कका रूपमा नेपालको चीन सिमाना कोदारीदेखि पाँचखाल, काठमाडौं, नौबिसे, मुग्लिन, नारायणगढ, हेटौंडा वीरगन्ज हुँदै भारतसम्म पुग्नका लागि यो सडकखण्ड महŒवपूर्ण रहेको छ । पूर्व–पश्चिम राजमार्ग र तराईलार्ई पृथ्वी राजमार्ग हुँदै राजधानी काठमाडौंसम्म जोड्ने काठमाडौं कलकत्ता व्यापारिक करिडोरको एक महŒवपूर्ण सडकखण्डका रूपमा नारायणगढ–मुग्लिन सडकखण्डलाई लिइन्छ ।
नारायणगढदेखि मुग्लिनसम्म सवारी यात्रा गर्दा साबिक ७० मिनेट लाग्दै आएको यस सडक पुनर्निर्माणपश्चात् ३५ मिनेटमा पूरा गर्न सकिने लक्ष्य राखिएको छ । उक्त सडकमा अहिले रहेको बढीमा पाँच मिटर फराकिलो पिचलाई सातदेखि ११ मिटरसम्म फराकिलो पार्न लागिएको छ ।
नारायणगढदेखि १६ किलोमिटर दूरीसम्म सडक ११ मिटर फराकिलो हुनेछ । त्यसपछि मुग्लिनसम्म सात मिटरको फराकिलो पिच हुने आयोजना कार्यालयले जानकारी दिएको छ । सडकखण्डमा रहेका पुल निर्माण कार्य सडक पूरा भएपछि थप बजेटसहित सुरु हुनेछ । २०३६ सालमा चीन सरकारको सहयोगमा गोर्खा–नारायणगढ सडकको एकखण्डका रूपमा यो सडक निर्माण भएको थियो ।
समयावधि सकिँदा ५० प्रतिशत मात्र काम
राजधानीलाई जोड्ने मुख्य सडकमार्गका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकको निर्माण क्रममा हालसम्म जम्मा ५० प्रतिशत काम सकिएको छ । चालू अप्रिल महिनाको अन्तिम हप्तासम्ममा सडक सुधारको काम सक्ने भन्दै सन् २०१५ अप्रिलबाट दुई वर्ष सम्झौतामा काम थालिएको थियो ।
भूकम्प र नाकाबन्दीका कारण समय थप गरी हाल ढिलोमा पनि सन् २०१७ को डिसेम्बर २१ सम्ममा सक्नुपर्ने भनिएको छ । यस अवधि सम्ममा ६६ दशमलव ६ प्रतिशत काम सकिनुपर्नेमा ५० दशमलव शून्य ५ प्रतिशत काम सकिएको आयोजनाका इन्जिनियर शिव खनालले बताए । आयोजनाको बाँकी ५० प्रतिशत काम थप भएको भनिएको समयमा सकिन असम्भव देखिएको छ । निर्माण पूरा हुनुपर्ने म्याद थपेर आउँदो डिसेम्बरसम्म पु¥याइएको छ । थप भएको नयाँ समयसीमाअनुसार पनि यो बेलासम्म ६८ दशमलव ५५ प्रतिशत काम हुनुपर्ने हो ।
भूकम्प र नाकाबन्दीका कारण इन्धन अभावले काममा ढिलाइ भएको निर्माण कम्पनीले गुनासो गरेपछि निर्माण सम्पन्न हुने अवधि थपिएको थियो ।
सडक निर्माणको जिम्मा लिएकाहरूले गाडीको चाप बढी भएको, निरन्तर वर्षा भएको, एकतर्फी यातायात सञ्चालन गरेर काम गर्ने वातावरण नमिलेका कारण काम ढिलो भएको बताउँदै आएका छन् । सडक विस्तारका क्रममा आवश्यक जनशक्ति र उपकरण नभएको गुनासो बढेको छ ।

२९ ठाउँमा पहिरोको जोखिम
नारायणगढ मुग्लिन सडकखण्डमा २९ ठाउँमा पहिरो जाने खतरा रहेको आयोजनाका इन्जिनियर शिव खनालले बताए । २९ मध्ये आधा स्थान जुगडीदेखि मुग्लिनसम्मको क्षेत्रमा पर्ने बताउँदै खनालले मुग्लिनदेखि जलबिरेसम्मको दूरी सात किलोमिटर पहिरोको जोखिममा रहेको जानकारी दिए ।
२९ चैत २०७३ मा चितवनमा प्रमुख जिल्ला अधिकारीको सक्रियतामा बसेको बैठकले सडक विस्तारका क्रममा अझ शक्ति र मेसिन बढाई १५ जेठ २०७४ भित्र पहाड काट्ने काम सक्ने निर्णय भएको थियो । तर अझै धेरै पहाड काट्ने काम बाँकी रहेको छ ।
दुई नम्बर खण्ड दासढुंगादेखि सिमलतालसम्म र तीन नम्बर खण्ड सिमलतालदेखि मुग्लिनसम्मको पहाड काट्ने काम अझै बाँकी रहेको छ । दुई नम्बर खण्डमा ५ सय मिटर र तीन नम्बर खण्डमा ३ सय मिटर कटिङको काम बाँकी रहेको आयोजनाले जानकारी दिएको छ ।
कालोपत्रे सुरु
नारायणगढ–मुग्लिन सडकमा (कालोपत्रे) सडक पिचको काम सुरु भएको छ । निर्माणको चरणमा रहेको सडकमा १ सय ६० एमएमको कालोपत्रे हुनेछ । पहिलो ६० एमएमको कालोपत्रे कार्य सुरु भएको छ ।
पहिलो खण्डको निर्माण कम्पनीले आँपटारीदेखि पिचको काम सुरु गरेको छ । पहिलो खण्डमा चार किमी सडक पिच भइसकेको छ । दोश्रो खण्डमा पनि ६ सय मिटर सडक पिच भइसकेको आयोजनाका इन्जिनियर खनालले बताए । सुप्रिम रौताहाले पनि तीन किमीसम्मको सडक पीच गर्ने तयारीमा रहेको जानकारी दिएको छ ।
त्यस्तै तेस्रो खण्डको निर्माणको जिम्मा लिएको वुडहिल लामाले पनि आगामी जेठ महिनासम्ममा चार किमी सडक पिच गर्ने लक्ष राखे पनि सुरु गर्न सकेको छ्रैन । तीन भागको एक भाग सडकखण्ड वर्षाअघि नै पिच गर्ने लक्ष्य राखिए पनि सोचेअनुसारको प्रगति भएको छैन । निर्माणको जिम्मा पाएको कम्पनी तीनवटा भए पनि कालोपत्रेको प्लान्ट एउटै भएका कारण केही समस्या भएको आयोजनाले बताएको छ ।
प्रकाशित मिति: १९ असार २०७४, सोमबार ०६:५१