नवलपरासी, १८ असार । नवलपरासीमा दुई स्थानमा नेपाली काँग्रेस र एक÷एक स्थानमा क्रमशः नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक फोरम विजयी भएको छ ।
सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा काँग्रेस, सुस्ता गाउँपालिकामा एमाले, पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र र सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी बनेको हो ।
नवलपरासीमा कुल सातवटा स्थानीय तहमध्ये बर्दघाट र रामग्राम नगरपालिकाबाहेक अन्य सबै स्थानमा मतगणना सम्पन्न भएका छन् ।
पछिल्लोपटक पाल्हीनन्दन र सरावल गाउँपालिकामा मतगणना सम्पन्न भएको छन् ।
पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता (दीपक) चार हजार ८६५ मत प्राप्त गरी विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्रकुमार सहानीले चार हजार ३९४ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्ष पदमा काँग्रेसकी उम्मेदवार पवित्राकुमारी कोहाँर तीन हजार ९१७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी उम्मेदवार अष्टबुजी चौधरीले तीन हजार ७३५ मत प्राप्त गरेकी छन् ।
सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिकका उम्मेदवार राधेश्याम चौधरी पाँच हजार ४५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार प्रदीपकुमार अग्रहरीले तीन हजार ९१६ मत प्राप्त गरेकी छन् । यसैगरी उपाध्यक्ष पदमा काँग्रेसकी उम्मेदवार उत्तमा कुमारी राय चार हजार ४५८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका उम्मेदवार सुनिता हरिजनले चार हजार ३४३ मत प्राप्त गरेकी छन् ।
यता सुनवल नगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार भीमबहादुर थापा (भरत) नौ हजार ९०७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार विमला अर्यालले नौ हजार १८२ मत प्राप्त गरेकी छन् ।
यसैगरी उपप्रमुख पदमा एमालेका उम्मेदवार ददिराम अर्यालले नौ हजार ९१० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार तारादेवी भण्डारीले आठ हजार ५५४ मत प्राप्त गरेकी छन् ।
प्रतापपुर गाउँपालिकामा काँग्रेस र सुस्ता गाउँपालिकामा एमाले विजयी भएका छन् । प्रतापुरमा नेपाल लोकतान्त्रिक फोरमका खेमनारायण चौधरीलाई ७०९ मतले पराजित गर्दै काँग्रेसका राजकुमार शर्मा अध्यक्षमा विजयी भएका छन् । शर्माको चार हजार ४३६ र चौधरीको तीन हजार ७२७ मत छ ।
उपाध्यक्षमा पनि काँग्रेस विजयी भएको छ । फोरमकी गुनकुमारी थारुलाई एक हजार ४०५ मतले हराउँदै काँग्रेसकी अञ्जुकुमारी चौधरी विजयी भएकी हुन् । चौधरीको चार हजार ४८६ र थारुको तीन हजार ८१ मत छ ।
यसैगरी सुस्ता गाउँपालिकामा काँग्रेसका हसमुद्दिन शेखलाई ५५३ मतले पराजित गर्दै एमालेका रामप्रसाद पाण्डेय वडाध्यक्षमा विजयी भएका छन् । पाण्डेयको तीन हजार ५११ र शेखको दुई हजार ९५२ मत छ ।
त्यसैगरी उपाध्यक्षमा एमालेकी इन्द्रकुमारी थरुनीले काँग्रेसकी विमला ढुङ्गानालाई ७२९ मतले पराजित गरेकी छन् । थरुनीको तीन हजार ५६५ छ भने ढुङ्गानाको दुई हजार ८३६ मत छ । रासस
प्रकाशित मिति: १८ असार २०७४, आईतवार १२:२२