रोल्पा, १८ असार । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् ।
दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा (माओवादी केन्द्र), दुई स्थानमा नेकपा (एमाले) र एक स्थानमा नेपाली काँग्रेस विजयी भएका छन् । ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये नेकाले १५, नेकपा एमालेले ११, नेकपा माओवादी केन्द्रले ४४ र स्वतन्त्रले दुई वडामा विजयी हासिल गरेका छन् ।
जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्ण केसीले पाँच हजार ६३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकाका लेखनाथ आचार्यले तीन हजार ८२७ मत प्राप्त गरेका थिए ।
यसैगरी, सोही नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकुमारी घर्तीले पाँच हजार ६६८ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी मिश्री हमालले तीन हजार ७२१ मत प्राप्त गरेकी छन्। लुङ्ग्री गाउँपालिकामा नेकाका दुर्गा खड्काले तीन हजार ११५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तुलाराम खड्काले दुई हजार ९१० मत प्राप्त गरेका छन् । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकाकै भीमकला बुढाथोकीले तीन हजार २७७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मनखना घर्तीले दुई हजार ९३९ मत प्राप्त गरेकी छन् ।
रुन्टीगढी गाउँपालिकामा नेकपा एमालेका बालाराम बुढाले तीन हजार ४०२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका टेकबहादुर बस्नेतले तीन हजार २७९ मत प्राप्त गरेका छन् । सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै छमाया पुनले तीन हजार ४५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी सरिता केसीले तीन हजार ३७९ मत प्राप्त गरेकी छन् ।
त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका शान्तकुमार ओलीले दुई हजार ५६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गङ्गाप्रसाद घर्तीले दुई हजार ३३६ मत प्राप्त गरेका छन् । यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै साबित्रा बुढाले दुई हजार ५४० मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लालसरी घर्तीले दुई हजार ३३३ मत प्राप्त गरेका छन् ।
दुईखोली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमकान्त डाँगीले चार हजार ६०८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका झक्कु घर्तीले एक हजार ९८९ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भएकी छन् । बुढाले चार हजार ६०८ प्राप्त गरेकी थिइन भने उनको निकटतम प्रतिद्वन्द्वी नेकाकी लक्ष्मी डाँगीले एक हजार ८९९ मत प्राप्त गरेकी छन् ।
थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार ९९० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरेका छन् । यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रामकिरणी रोकाले एक हजार ९६९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी श्रीकुमारी रोकाले ९९५ मत प्राप्त गरेकी थिइन् ।
सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका आशबहादुर बुढाले ८२८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । पुनका निकटतम प्रतिद्वन्द्वी नेकाका दुर्गाबहादुर घर्तीले ६३६ मत प्राप्त गरेका थिए । सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका पवित्रा घर्तीमगरले ८७४ मत प्राप्त गरी विजयी भएकी छन् । उपाध्यक्षमा उनका निकटतम प्रतिद्वन्द्वी नेकाका भिमली बुढाथोकीले ६३५ मत प्राप्त गरेका थिइन् ।
सुकीदह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरबहादुर केसीले दुई हजार ४१४ मत ल्याई अध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार ओलीको दुई हजार २८० मत रहेको थियो । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै रीताकुमारी घर्तीले दुई हजार ३९९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मला ओलीले दुई हजार २१५ मत प्राप्त गरेकी छन् ।
माडी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नन्दबहादुर पुनले तीन हजार १८२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका गोपाल घर्तीले दुई हजार ६२१ मत प्राप्त गरेका थिए । सोही गाउँपालिकाको उपाध्यक्ष नेकपा माओवादी केन्द्रका धनिकला घर्तीले तीन हजार २५१ मत प्राप्त गरी विजयी भएकी छन् । उपाध्यक्षमा नेकपा एमालेका प्रेम घर्तीले दुई हजार ६८९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रहेकी थिइन् । रासस
प्रकाशित मिति: १८ असार २०७४, आईतवार ११:०३