काठमाडौ १८ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा तीन दिने भ्रमणका क्रममा आइतबार नयाँ दिल्ली जान लागेका छन् । शेरबहादुर देउवा सरकारका परराष्ट्रमन्त्री महरा पहिलो भ्रमणको क्रममा आइतबार दिउँसो दिल्ली पुग्ने कार्यक्रम रहेको छ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजको निमन्त्रणामा भारत आउन जानलगेका परराष्ट्रमन्त्रीले सोमबार साँझ ७ बजे विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गर्ने तय भएको नयाँ दिल्ली स्थित नेपाली दूतावासले जानकारी दिएको छ।
यसबाहेक आइतबार साँझ दिल्लीमा रहेका नेपाल हेर्ने गैर आवासीय राजदूतसँग परारष्ट्रमन्त्री महराले अन्तक्रिया गर्ने कार्यक्रम रहेको छ। तर कार्यक्रमको विस्तृत जानकारी दूतावासले गराएको छैन्।
दूतावासले त्यस्तो भेटघाटमा पत्रकारलाई बोलाउन नमिल्ने र विस्तृतमा बताउन पनि नमिल्ने बताएका कारण परराष्ट्रमन्त्रीको यो भेटघाटलाई गोप्य राख्न खोजिएको जस्तो देखिएको छ। दूतावासका एक अधिकारीले भने, ‘मिडियालाई यो कार्यक्रमका लागि आमन्त्रण गरिएको छैन्।’
गत मेमा नेपालमा कार्यरत इन्स्टिच्यूट फर स्ट्रटिजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) सँग सहकार्य गरेर नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा दिल्लीस्थित दूतावासले नयाँ दिल्लीमा नेपाल मामिला समेत हेर्ने कूटनीतिक नियोग प्रमुखको दुई दिने गोष्ठीको आयोजना गरेको थियो।
परराष्ट्रमन्त्री महरासँग भेटघाटका लागि पनि यिनै कूटनीतिक प्रमुखलाई डाकिएको छ। एनजीओ सँगको सहकार्यको सो कार्यक्रममा मिडियालाई सहज रुपमा पहुँच दिएको दूतावासले तिनै नियोग प्रमुखसँग मुलुकका परराष्ट्रमन्त्रीसँगको छलफल कार्यक्रममा मिडियालाई प्रतिबन्ध लगाएका कारण यो भेटघाटलाई कतै गोप्य राख्न खोजिएको हो कि भन्ने आशंका उब्जाएको छ।
प्रकाशित मिति: १८ असार २०७४, आईतवार ०६:५५