जुम्ला, १७ असार । यहाँको चौधबीस भेकमापर्ने आलुबाली पकेटक्षेत्रको ‘बहुक्षेत्रगत’ सहभागितात्मक अनुगमन गरिएको छ ।
पातारासी गाउँपालिका तथा साविकका छुमचौर डिल्लीचौर गाविसमा जिल्ला कृषि विकास कार्यालय जुम्लाद्वारा सञ्चालित साना कृषक अनुदान कार्यक्रमको बहुक्षेत्रगत सहभागितात्मक अनुगमन गरिएको हो ।
सो अवसरमा आलु सङ्कलन केन्द्र, नयाँ बगैँचा स्थापना, साना सिँचाइ मर्मत र धान बीज वृद्धि कार्यक्रमको अनुगमन गरिएको थियो । त्यस्तै, आलु कृषक पाठशाला तथा प्रदर्शनी र मकै बीज वृद्धि, जिल्ला पशुसेवा कार्यालयको साना अनुदान कार्यक्रम (बाख्रा वितरण), जिल्ला स्वास्थ्य कार्यालयको खाद्य प्रदर्शनी (पोषण), बागवानी अनुसन्धान केन्द्रको आलुको जातीय परीक्षण कार्यक्रमको पनि अनुगमन गरिएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए।
“कृषि तथा खाद्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा २५ वटा साना कृषक अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमअन्तर्गत रु दुई लाख ५० हजारदेखि रु तीन लाख अनुदान उपलब्ध गराउने र यसका लागि कुल रु ७५ लाख बजेट बिनियोजन गरिएको छ, उनले भने” ।
उनका अनुसार सञ्चालित कार्यक्रमले यहाँका नागरिकको पोषणमा टेवा पुगेको र स्वास्थ्यमा सुधार आएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले कार्यमा मुखरित नभई लक्ष्य पूरा हुननसक्ने बताए । उनले भने, “जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा अनुगमन गरिएका साना कृषक अनुदानका कार्यक्रम र संरचनाको अवस्था अत्यन्तै सन्तोषजनक देखियो ।” कृषिबाट अनुदान गएको बरु कृषकहरुले नै हेलचक्राई गरेको प्रजिअ सापकोटाको टिप्पणी थियो ।
स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासले लागत अनुसारको काम भएको बताउँदै कतिपय ठूला योजना सम्पन्न नहुँदा भुक्तानी माग्ने र काम पूरा गर्न अनुरोध गर्दा धम्की दिने काम भइरहेकोमा दुःख व्यक्त गरे ।
यद्यपि कृषिलगायत अन्य विषयगत कार्यालयले कृषि तथा खाद्य सुरक्षाका हिसाबले गरिएका कार्यक्रमको प्रभाव राम्रै रहेकोपनि उनले टिप्पणी गरे ।
जिल्ला पशुसेवा कार्यालय जुम्लाका वरिष्ठ पशु विकास अधिकृत माधवप्रसाद अर्यालले कृषि तथा खाद्य सुरक्षा आयोजनको मूल मियो कृषि कार्यालय भएको र त्यसमै आधारित रहेर अनुगमन संयुक्तरुपमा भएको जानकारी दिए ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, गैरसरकारी संस्था, उद्योग वाणिज्य सङ्घ, जिल्ला सहकारी सङ्घ र पत्रकारले यो कार्यक्रमको उचित सञ्चालनबाट कृषकमा नयाँ जागरण आएको बताए । उनीहरुले यहाँको रैथानीबाली संरक्षणका कार्यक्रममा जोड दिनुपर्ने उल्लेख गर्दै पशुपक्षी वितरण गर्दा यहाँको माटो र हावापनी सुहाँउदो किसिमले गर्नुपर्ने सुझाए दिए । रासस
प्रकाशित मिति: १७ असार २०७४, शनिबार १६:२२