काठमाडौं, १७ असार। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दुई स्थानका मतदाताले ‘नो भोट’ को अभ्यास गरेका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ तिङ्ला र प्रदेश ५ को नवलपरासीको सरावल गाउँपालिका ६ का मतदाताले मतदान गरेनन् ।
घर नजिकै मतदान केन्द्रमा बिहान ७ बजेदेखि निर्वाचन आयोगबाट खटिएका कर्मचारी मतपेटिका लिएर अपराहन ५ बजेसम्म बसे पनि उनीहरूले भोट हालेनन् ।
कारण हो– आफूहरूले चाहेअनुसार पुनस्संरचना नभएकोमा असन्तुष्टि । पुनःसंरचनापछि उनीहरूले अपायक स्थानमा आफूहरूलाई गाभिएको भन्दै विरोध गर्दै आएका थिए । सच्याउनलाई माग गर्दै आएका थिए । र, त्यही असन्तुष्टिका रूपमा उनीहरूले मतदान पनि बहिष्कार गरे ।
तिङ्लाका कांग्रेसको गाउँ इकाई सभापतिसमेत रहेका नैनबहादुर कार्कीले कान्तिपुरसँग फोनमा ‘२० वर्षपछि भएको स्थानीय निर्वाचनमा सहभागी हुन नपाउँदा खुसी नलागेको’ बताए । ‘माग सुनुवाइ नभएपछि हामीसँग विकल्प भएन,’ उनले भने, ‘नो भोट नो क्यान्डिडेटको आन्दोलन रोज्नुर्पयो ।’ तिङ्लावासीले आफूसँगैको दूधकुण्ड नगरपालिकामा जोडिन चाहेका थिए । कार्कीका अनुसार जिल्लास्थित प्राविधिक समितिले पनि त्यस्तै सिफारिस गरेको थियो ।
तर बालानन्द पौडेल नेतृत्वको पुनस्संरचना आयोगले नेचा सल्यान गाउँपालिकामा गाभिदियो । ‘अहिले गाभिएको गाउँपालिकाको केन्द्रमा पुग्न हामीलाई ८ घण्टा हिँड्नुपर्छ, ४ गाउँपछाडि केन्द्र छ, बिल्कुलै अपायक बनाइएको छ,’ उनले भने, ‘जिल्लादेखि काठमाडौंसम्म धाएर आफ्ना कुरा निरन्तर राख्यौं तर बेवास्ता गरियो ।’
प्रकाशित मिति: १७ असार २०७४, शनिबार ०७:०९