काठमाडौं, ११ असार । भारतबाट ल्याउने पेट्रोलियम पदार्थमा देखिएको कमिका कारण उत्पन्न समस्या समाधानमा चासो नदेखाएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनले आगामी असार २० गते देखि पेट्रोलियम पदार्थ खरिद विक्री नगर्ने चेतावनी दिएको छ ।
एशोसियसनले शनिबार राजधानीमा वृहत भेला गरी आन्दोलनको घोषणा गरेको हो । वाग्मती डिलर्स एशोसियनमा आवद्ध रहेका काभ्रे, धादिङ लगायत जिल्लाका पेट्रोलियम डिलर्स एशोशिसयनका प्रतिनिधि समेतको सभागिता रहेको भेलाले माग पुरा नभए आगामी २० गते देखि इन्धन किन्न र बेच्न नसक्ने भन्दै साचो सरकारलाई बुझाउने निर्णय गरेको हो ।
२० गतेसम्म माग पुरा नभए पहिलो चरणमा पेट्रोल आपूर्ति नगर्ने निर्णय गरेको एशोसियसनले २३ गते देखि सबै पेट्रोलियम पदार्थ रोकेर हड्ताल गर्ने घोषणा गरेको छ ।
पेट्रोलियम पदार्थको कारोवार गर्दा पेट्रोल र डिलेजमा धेरै घाटा भएको कारण व्यवसाय नै बन्द गरेर हड्ताल गर्नु परेको व्यवसायीले बताएका छन् । वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयन, नाप तौल तथा गुणस्तर विभाग, नेपाल आयल निगम लगायत संघसंस्थाले यसअघि नै पेट्रोलियम कारोवार गर्दा तेल नपुगेको प्रमाणित गरेका थिए ।
सरकारी निकायहरुको रोहवरमा पटक पटक गरिएको परिक्षणमा प्रति ४ हजार लिटर ल्याउँदा पेट्रोल ९९ र डिजेल ४८ लिटरसम्म अपुग रहेको देखिएको थियो । वास्तविक घाटा कहा कसरी भयो भन्ने स्पष्ट भईसकेको अवस्थामा पनि समस्या समाधानमा चासो नदिईएको व्यवसायीले गुनासो गरेका छन् ।
भारतीय आयल निगमबाट तेल भर्ने क्रममा, बाटोमा हुने चोरी, तापक्रमका कारण तथा प्राविधिक कारणले इन्धनमा धेरै घाटा देखिएको स्पष्ट भईसकेकाले प्राविधिक घाटा नियन्त्रण वाहिर भएकाले निगमबाट नै पूर्ति हुनुपर्ने व्यवसायीको माग रहेको पेट्रोलियम डिलर्स एशोसिएसनका केन्द्रीय महासचिव विश्वप्रसाद अर्यालले बताए ।
वाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनको आन्दोलन घोषणा कार्यक्रमा पेट्रोलियम डिलर्स एशोशिसयनले पनि समर्थन जनाएको छ ।
बाग्मती पेट्रोलियम डिलर्स एशोशिसयनमा आवद्ध व्यवसायीले राजनीतिक दलहरुले जस्तै आफुहरुले पनि माग पुरा गराउनका लागि आन्दोलनको घोषणा गरेको बताएका छन् ।
आगामी २० गते बाट तेल नकिन्ने घोषणा गरेका व्यवसायीले आफ्नो आन्दोलन जाहेज भएको भन्दै राजनीतिक दलको दृष्टान्त दिएका हुन् । उनीहरुले सबैले माग पुरा गर्ने माध्यम आन्दोलनलाई बनाएको उल्लेख गर्दे आफुहरुले पनि इन्धनमा देखिएको घाटा पूर्ति र न्यायोचित कमिसनका लागि आन्दोलन गरेको दाबी गरेका हुन् ।
इन्धन आयातका क्रममा हुने गरेको चोरी, प्राविधिक घाटा, कमिशन लगायत विषयमा व्यवसायी र नेपाल आयल निगमबीच आवश्यक समझदारी कायम हुन नसक्दा यसअघि पनि व्यवसायी पटक पटक आन्दोलनमा उत्रदै आएका छन् ।
प्रकाशित मिति: ११ असार २०७४, आईतवार १२:३६