सप्तरी (राजविराज), ११ असार । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफूहरु स्थानीय तहको निर्वाचनको विरोधी नरहेको बताउँदै वर्तमान सरकारले त्यस निर्वाचनमा आफ्नो पार्टीलाई समावेश गर्ने वातावरण नबनाएकाले निर्वाचनमा जान नसकेको बताएका छन् ।
सप्तरीको मलेठमा शनिबार राजपा सप्तरीद्वारा आयोजना गरिएको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै नेता महतोले सरकारले चुनावमा आउन मौखिक रुपमामात्रै भन्यो तर चुनावको बाटोमा ठूलो ताला लगाएर राखेकाले आफूहरु निर्वाचनमा सहभागी नभएको स्पष्ट गरे ।
उनले आफूहरु चुनाव विरोधी नरहेको बताउँदै लोकतन्त्रको मुख्य हतियार चुनावलाई आफूहरुले प्रयोग गर्न खोजे पनि प्रयोग गर्न नदिएको समेत आरोप लगाए।
पटक पटक सम्झौता गरेपनि मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधानमा अधिकारै नदिई अधिकारविहीन संविधानमा मोहर लगाउने षड्यन्त्र गरेर आफूहरुलाई ढोका बन्द गरिदिएको उनको भनाइ थियो ।
अर्का नेता शरत्सिंह भण्डारीले सङ्घीयतालाई खारेज गराउन मुख्य दलहरु लागिपरेको आरोप लगाए । सरकारले सीमाङ्कनमा बेइमानी गर्ने चाल चालेको आरोप भण्डारीले लगाए ।
त्यस्तै, नेता महेन्द्रराय यादवले संविधान संशोधन, आन्दोलनमा मारिएकालाई सहिद घोषणा, उनीहरुका परिवारलाई क्षतिपूर्ति र जनसङ्ख्याका आधारमा स्थानीय तह वृद्धि गर्न आफूहरुले बारम्बार माग गर्दै आएपनि सरकारले कुनै ध्यान नदिएको आरोप लगाउँदै जबर्जस्ती निर्वाचन गराउन खोज्नु अर्काे षड्यन्त्र भएको बताए ।
अर्का नेता अनिल झाले सरकारले बलजफ्ती रुपमा गराइरहेको स्थानीय तहको निर्वाचन अवैध घोषणा गराउनका निम्ति प्रयास गरिने बताए ।
नेता राजकिशोर यादवले राजपा नेपाल मुलुककै एउटा ठूलो पक्ष भएको बताउँदै यो पक्षलाई बाहिर राखेर गराइने निर्वाचनले वैधता प्रदान नगर्ने बताउँदै संविधानलाई वैध बनाउने प्रयासस्वरुप निर्वाचन गराउन खोजिएको आरोप लगाए ।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २०० भन्दा बढी राजपामा प्रवेश गरेका थिए । रासस
प्रकाशित मिति: ११ असार २०७४, आईतवार ०७:१६