काठमाडौं ११ असार । १४ असारमा हुने स्थानीय तह दोस्रो चरण निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू अन्तिम कसरतमा दलहरू जुटेका छन् । प्रदेश–१, ५ र ७ गरी ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा नौ वटा दलले चुनावी तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् । मौन अवधि सुरु हुन एक दिन बाँकी रहँदा सबैजसो दलका शीर्ष नेतृत्व जिल्लाजिल्लामै प्रचारप्रसारसहितका चुनावी सभामा केन्द्रित भएका छन् ।
बुधबार हुने दोस्रो चरणको निर्वाचनलाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित सबैजसो राजनीतिक दलका शीर्ष नेतृत्व केही दिनअघि बाटै जिल्ला दौडाहामा छन् । मतदातालाई विभिन्न एजेन्डा देखाएर दलहरूले यतिबेला आफ्ना उम्मेदवारहरूलाई मत मगिरहेका छन् । आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले मत माग्न तथा निर्वाचनको प्रसारप्रसार गर्न नपाइने हुँदा पनि आइतबार अन्तिम प्रचारप्रसार हुँदै छ । स्थानीय स्तरमा पार्टीले टिकट दिएका आधिकारिक उम्मेदवारलाई मत माग्न सबैजसो दलका नेताहरूलाई पार्टीले जिल्ला कमान्डरसहित नै जिम्मेवारीमा खटाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा केही दिनदेखि नै सुदूरपश्चिमका जिल्लामा आयोजना भएका सभालाई सम्बोधन गरिरहेका छन् । शनिबार प्रधानमन्त्री देउवाले आफ्नै गृह जिल्ला डडेलधुराको जोगबुढामा भएको चुनावी सभालाई सम्बोधन गरे ।
उनले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले त्यसको कार्यान्वयन पनि कांग्रेसले नै गर्ने भन्दै कांग्रेसले जित्दा मात्रै देशको विकास हुने भनेका छन् । यस्तै शनिबार नै देउवाले कञ्चनपुरका विभिन्न स्थानमा भएका सभालाई समेत सम्बोधन गरेको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिएका छन् । यस्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार नेपालगन्जका विभिन्न चुनावी सभाहरूलाई सम्बोधन गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा र विराटनगरका विभिन्न स्थानीय तहका चुनावी सभामा सक्रिय छन् ।
उनले झापाका विभिन्न स्थानमा भएका चुनावी सभालाई सम्बोधन गर्दै दोस्रो चरणको निर्वाचनमा पनि पहिलेको भन्दा धेरै मत अन्तरले एमालेले विजय हात पार्ने बताएका छन् । उनले एमाले पहिलो शक्ति हुँदा मात्रै देशमा विकास र उन्नति हुनेसमेत बताएका हुन् । उनले आइतबार विराटनगरमा भएका चुनावी सभालाईसमेत सम्बोधन गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सुदूरपश्चिममा भएका विभिन्न चुनावी सभालाई सम्बोधन गरेर शनिबार काठमाडौं फर्किएका छन् । उनी शनिबार धनगढीमा भएको सभालाई सम्बोधन गरेर काठमाडांै आएका हुन् । राप्रपा अध्यक्ष कमल थापा उदयपुरबाट चुनावी सभा सकेर नवलपरासी, रूपन्देही हुँदै दाङबाट डडेलधुरा पुगेका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार विराटनगर पुगेका छन् । यस्तै अन्य सबैजसो शीर्ष नेतृत्व जिल्लाजिल्लामै खटिएका छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत कुल ७ सय ४४ स्थानीय तहका कुल १८ हजार ५ सय ७२ निर्वाचन केन्द्रमध्ये दोस्रो चरणमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४ केन्द्र र ४ हजार ५ सय ८१ स्थलमा निर्वाचन हुने आयोगले बताएको छ । जसमा एक महानगर, सात उपमहानर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन् । १४ असारमा हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिनेछन् भने सो निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् ।
पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भएका जिल्ला रुकुम र नवलपरासीका केही भागमा समेत दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । सो दुई जिल्लाका केही गाउँपालिका सरकारले हेरफेर गरेर प्रदेश–५ मा राख्ने निर्णय गरेपछि केही मतदान स्थल र केन्द्र फेरबदल भएका थिए । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले बताएको छ ।
कर्मचारी फिल्डमा, परिचयपत्र आजबाट
काठमाडौं / रास– निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत १४ असारमा स्थानीय तह निर्वाचन हुने प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमै कर्मचारी पुगेको बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले शनिबार साँझसम्म सबै स्थानीय तहमा कर्मचारी पुगिसकेको आयोगमा जानकारी प्राप्त भएको बताएका हुन् ।
‘दोस्रो चरणमा निर्वाचन हुने सबै प्रदेशका सबै स्थानीय तहमा कर्मचारी शनिबार साँझसम्म पुगेका छन्,’ प्रवक्ता शर्माले राजधानीसँग भने, ‘हामीले वर्षाको मौसममा निर्वाचन प्रयोजनका सामानको सुरक्षामा विशेष ध्यान पु¥याउन भनेका छौं ।’ आयोगले दोस्रो चरणमा निर्वाचन हुने तीनवटा प्रदेशका ३ सय ३४ स्थानीय तहमा आज (आइतबार) बाट १३ असारसम्म नयाँ मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाताले आफ्नो नजिकैको मतदान केन्द्रमा गएर फोटोसहितको परिचयपत्र लिन सक्ने आयोगले बताएको छ । १४ असारमा हुने प्रदेश–१, ५ र ७ को निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुँदै छन् ।
मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कुनै पनि प्रमाणित कागजात साथ लिएर नजिकैको मतदान केन्द्रमा मतदाता स्वयं पुगे तत्कालै परिचयपत्र दिइनेछ । मतदाता परिचयपत्र लिन मतदाता स्वयं नपुगेमा वा जान नसक्ने अवस्था भएमा अन्य कोही गएर लिन चाहेमा समेत परिचय खुल्ने आधार भए प्राप्त गर्न सक्नेछन् । एकाघरका व्यक्ति वा आफन्त वा छिमेकी कसैले पनि परिचयपत्र बुझेको प्रमाणित गरेर सो स्थानमा बसेका राजनीतिक दलका प्रतिनिधिको रोहबरमा परिचयपत्र दिइनेछ ।
यसैबीच निर्वाचन आयोगले ३ सय ३४ स्थानीय तहमै परिचयपत्र वितरणसँगै मतदातालाई निर्वाचनमा कसरी मत हाल्ने भन्नेबारे सिकाउन मतदाता शिक्षा दिने तयारी गरेको छ । आयोगले परिचयपत्र वितरणसँगै स्वयंसेवक तथा दलका कार्यकर्ताबाट मतदाता शिक्षा दिइने जानकारी दिएको हो । आयोगले मतदाता शिक्षालाई सशक्त रूपमा अघि बढाइएको बताउँदै अन्तिम समयमा दिइने शिक्षा झनै प्रभावकारी हुने बताएको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले बताएको छ ।
प्रकाशित मिति: ११ असार २०७४, आईतवार ०७:०५