अछाम ११ असार । चुनावी प्रचारमा होमिएका अछामका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ । उनीहरूले नाराजुलुसमा विद्यार्थीको व्यापक प्रयोग गरिरहेका छन् ।

कांग्रेस, एमाले र माओवादी केन्द्रले विद्यालय पोसाकमै सजिएका बालबालिकालाई सभा, सम्मेलन, ¥याली र नारा जुलुसमा प्रयोग गरेर स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ विपरीत प्रचार गरिरहेको देखिन्छ । पार्टीको चिह्न अंकित टिसर्ट, टोपी, पर्चा, पम्प्लेट, भित्तेलेखन र वाल पेन्टिङ गरेर आचारसंहिता मिच्दै आएका दलहरूले यसपटक भने विद्यालय पोसाकसहितका बालबालिकाको प्रयोग गरेर आचारसंहिताको ठाडो खिल्ली उडाएका छन् ।
४ असारमा मनोनयन दर्ता गरेयता शक्ति प्रदर्शनमा उत्रिएका ठूला दलहरूले बालबालिकालाई झन्डा बोकएर नारा जुलुसमा मात्र लगाएका छैनन्, दमाह बजाउने, सामान बोक्ने, पानी ल्याउने र पर्चापम्पलेट ओसारपसारमा पनि प्रयोग गरिरहेको ढकारी गाउँपालिका–६ का मोहनबहादुर बूढाले बताए । ‘नारा जुलुसको अगाडि केटाकेटी नै देखिन्छन्,’ उनले भने, ‘मनोनयपछि यो क्रम झन् बढेको छ ।’
उम्मेदवारको नजिकका छिमेकी बालबालिका कक्षा छोडेरै प्रचारमा हिँडेको उनले बताए । ‘विद्यालयका कक्षा खाली छन्,’ नाम नभन्ने सर्तमा एक शिक्षकले भने, ‘केही शिक्षक पनि बिदा मिलाएर प्रचारमा गएका छन् ।’ नेताहरूको प्रत्यक्ष हस्तक्षेपका कारण शैक्षिक संस्थाहरूमा आचारसंहिता उल्लंघनका घटना बढेकोउनले बताए ।
बालअधिकारको क्षेत्रमा क्रियाशील सरोकारवालाहरूका अनुसार जिल्लाको ढकारी, कमलबजार, तुर्माखाद, पञ्चदेवल विनायक, मेल्लेख, चौरपाटी, रामारोशनलगायतका ठाउँमा बालबालिकाको बढी प्रयोग भइरहेको छ । ‘शतप्रतिशत आचारसंहिता पालना भएको अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, ‘हामीले दलहरूलाई धेरैपटक आग्रह गरिसकेको छांै । तैपनि पूर्ण रूपमा आचारसंहिता पालना भएको छैन ।’ छिटफुट रूपमा आचारसंहिता उल्लंघनका घटना दोहोरिइरहेको उनले बताए ।
‘-यालीमा बालबालिका देखिन्छन्,’ महिला तथा बालबालिका अधिकृत भगवती अर्यालले भनिन्, ‘दलहरूले नै ल्याउँछन् वा आफैं आउँछन् बुझ्न सकिएको छैन ।’ अनुगमनका क्रममा अधिकांश पार्टीका नाराजुलुसमा बालबालिकाको सहभागिता देखिएको उनले बताइन् । तर, दलहरू भने कुनै पनि ठाउँमा बालबालिकाको प्रयोग नभएको दाबी गर्दै आएका छन् । जबर्जस्त कसैलाई पनि प्रचारमा सहभागी नगराएको कांग्रेस, एमाले र माओवादी केन्द्र नेताहरूले बताए ।
‘हाम्रै निर्देशनमा बालबालिका आएका होइनन्,’ माओवादी केन्द्रका जिल्ला संयोजक झपट साउँले भने, ‘रमाइलो मानेर हेर्न आएकालाई प्रचारमै लगाइयो भन्न मिल्दैन । यस्तो कुनै पनि पार्टीमा भएको छैन ।’
प्रकाशित मिति: ११ असार २०७४, आईतवार ०७:०१