काठमाडौं १० असार । प्रमुख तीन मधेसवादी दल यतिबेला जनताको घरदैलोमा व्यस्त छन् । संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरम जनताको घरदैलोमा पुगेर मत माग्न व्यस्त छन् । अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू भने निर्वाचन बहिष्कारको एजेन्डासहित जनताबीच पुगिरहेका छन् ।
फोरम नेपाल र लोकतान्त्रिक फोरमका नेता संबिधान संशोधन र आर्थिक समृद्धिका लागि विकासका योजनाका मुद्दा लिएर जनताको घरघरमा पुगिरहेका छन् । निर्वाचनमा सहभागी यी दुई फोरमले स्थानीय निर्वाचनलाई संघर्षकै अर्को चरणको रूपमा लिएका छन् ।
फोरम नेपालका महासचिव रामसहाय यादवले आफूहरूको चुनावी नारा नै संविधान संशोधन, आर्थिक समृद्धिका लागि विकासका मुद्दा रहेको बताए । फोरम नेपालका उम्मेदवारहरू घरदैलो, प्रचारप्रसार, आमसभालगायत काममा व्यस्त रहेको उनले बताए ।
‘संविधान संशोधनविरोधी दललाई बहिष्कार गर्न र मधेसी, आदिवासी, जनजातिलाई संविधान संशोधन गरेर अधिकार दिन नखोज्ने दललाई मत नदिनु भन्दै हामी मत माग्दै छौं,’ फोरम नेपालका महासचिव यादवले नेपालगन्जबाट टेलिफोनमा भने, ‘जनताविरोधी रहेका पार्टीलाई मतदान नगरी बहिष्कार गराउन र हामीलाई मतदान दिन आग्रह गरिरहेका छौं ।’
जनताबीच मधेसवादी दल
स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक नगरे पनि संविधान संशोधनका साथै स्थानीय यातायात, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासे मुद्दा लिएर फोरम जनताबीच पुगिरहेको उनले बताए ।
फोरम नेपाल र लोकतान्त्रिक फोरम संविधान संशोधन, आर्थिक समृद्धिका लागि विकासका मुद्दा लिएर जनताका घरघरमा पुगिरहेका बेला राजपा नेपाल भने निर्वाचनविरोधी गतिविधि गरिरहेको छ ।राजपा नेपालका महासचिव मनीष सुमनले निर्वाचन बहिष्कार गर्न जनताकै बीचमा आमसभा, घरदैलोलगायत कार्यक्रमगरिरहेको बताए ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई पितृशोक परेकाले उनी गृह जिल्ला सर्लाहीमा रहेका र बाँकी नेता निर्वाचनविरोधी कार्यक्रममा रहेको उनले बताए । पार्टीकै केही नेता स्थानीय तहको निर्वाचनमा सहभागी भएको खबर आएपछि उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिने सुमनले बताए ।संविधान संशोधन नगरी भइरहेको निर्वाचन बहिष्कार गर्ने पक्षमा विभिन्न कार्यक्रम गर्दै राजपा नेपालका नेता अहिले विभिन्न जिल्लामा व्यस्त रहेका छन् । तर तराईकै केही जिल्लामा भने उनीहरू अघोषित रूपमा उम्मेदवार खडा गरेर मत मागिरहेका छन् । राजपाकै नेताहरूका अनुसार स्थानीय तहको मत सुरक्षित गर्न स्वतन्त्र उम्मेदवार खडा गरी केही नेता भने मत मागिरहेका छन् । पहिलो चरणको निर्वाचनमा समेत सहभागी भएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, कोषाध्यक्ष विजय यादवलगायत नेता प्रदेश–१ को कमान्ड सम्हाल्दै पूर्वी तराईका विभिन्न जिल्लाका कार्यक्रममा व्यस्त छन् । यस्तै फोरम नेपालकै वरिष्ठ नेता अशोक राई, उपाध्यक्षद्वय रकम चेम्जोङ, हेमराज राईलगायत नेता प्रदेश–१ को पहाडी जिल्लाका घरदैलोमा व्यस्त छन् ।
पूर्वको कार्यक्रम सकेर फोरम अध्यक्ष यादव ११ असारमा पश्चिम नेपालका विभिन्न जिल्लामा जाने कार्यक्रम छ । पश्चिममा महासचिव यादवका साथै उपाध्यक्ष लालबाबु राउतलगायत नेता विभिन्न कार्यक्रममा व्यस्त छन् । फोरमले पार्टी केन्द्रीय सदस्यहरूलाई आ–आफ्नो जिल्लामै खटाएको छ ।
लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामजनम चौधरीले पनि संविधान संशोधन, आर्थिक समृद्धिका लागि विकासका मुद्दालाई उठाउँदै जनताबीच पुगिरहेको बताए । कैलालीमा रहेका चौधरीले स्थानीय शिक्षा, स्वास्थ्य, खानेपानीलगायत मुद्दालाई आफ्नो चुनावी मुद्दा बनाएको बताए । ‘संविधान संशोधनविरोधी दलविरुद्ध संशोधन पक्षीय दलहरूको गठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएका छौं,’ चौधरीले भने, ‘हामी संशोधनविरोधी दललाई निर्वाचनकै माध्यमबाट पराजित गर्ने गरी तालमेल गरेर मतदाताबीच पुगिरहेका छौं ।’ स्थानीय तहको निर्वाचन भइरहेकाले तालमेलको जिम्मेवारी पनि स्थानीय कमिटीलाई दिएको उनले बताए । एकाधबाहेक सबै ठाउँमा संविधान संशोधन पक्षीय दलबीच गठबन्धन बनाएको उनले बताए ।
प्रकाशित मिति: १० असार २०७४, शनिबार ०६:३३