काठमाडौँ, ७ असार । संविधानले निर्दिष्ट गरेको समयसीमा धेरै बाँकी नरहेकाले आगामी मङ्सिरसम्ममा प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी विभिन्न दलका नेताले स्थानीय चुनाव सकिएलगत्तै बाँकी दुई चुनाव गरी संविधान कार्यान्वयन तथा सङ्क्रमणकाल अन्त्य गर्नुपर्ने सुझाव दिए ।
नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले संविधानमा निर्धारित समयअगावै सबै निर्वाचन गर्नुपर्ने व्यवस्था रहेकाले दुवै निर्वाचन एकैपटक गर्नुुपर्ने र त्यसो गर्दा अर्बौं रुपैयाँको बचत पनि हुने बताए ।
प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकै चरणमा गर्दा मुलुकको सीमित साधन र स्रोतको पनि बचत हुने विचार व्यक्त गर्दै नेता महतले भने,“एकै चरणमा निर्वाचन गर्दा मुलुक र जनता दुवैलाई हितकर हुन्छ ।”
स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलले दलहरुबीच सहमतिको राजनीतिलाई अगाडि बढाउन सहयोग पुर्याएको उनको विश्वास थियो ।
नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले समय र पैसाको बचत हुने भएकाले प्रदेश र केन्द्रीय संसद्को चुनाव मङ्सिरको अन्तिमसम्ममा एकै चरणमा गर्नुपर्नेमा जोड दिए ।
तराई–मधेसको मुद्दा राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै उनले भने, “मधेसको मुद्दा कुनै एक पार्टीको नभएर राष्ट्रिय मुद्दा हो । संविधानमा विभेद भए संशोधन गरेर जान सकिन्छ तर चुनाव बहिस्कार गरेर पार्टीलाई फाइदा हुँदैन, बरु जनताबाट बहिष्कृत भइन्छ ।”
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता डा वंशीधर मिश्रले सरकारले चुनाव नचाहेकै कारण प्रदेश नं २ को चुनाव सारिएको आरोप लगाउँदै सो चुनाव सार्नुको कुनै पनि औचित्य नरहेको बताए । उनले प्रदेश र केन्द्र दुवै निर्वाचन एकैपटक गर्ने प्रयासमा आफ्नो दलको सहयोग रहने बताए ।
सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा शिवजी यादवले यो निर्वाचनले दलहरुबीच सहमतिको वातावरण सहज बनाउने आशा व्यक्त गर्दै आफ्नो पार्टीले निर्वाचनमा भाग लिँदा राजपाका केही नेताले गैरराजनीतिक अभिव्यक्ति दिएको बताए ।
राजपा नेपालका शीर्ष नेता रामनरेशराय यादवले मधेसको समस्या समाधान नगरी चुनाव हुन नसक्ने र त्यसरी गरिने चुनावमा आफ्नो पार्टीले भाग नलिने बताए । रासस
प्रकाशित मिति: ७ असार २०७४, बुधबार १७:५४