उपत्यकमा तरकारी खेतीको बैंकका रुपमा चिनिने भक्तपुरमा विगत केही वर्षयता हरियो तरकारी उत्पादन घटेको छ । उत्पादन कम भएर यहाँ तरकारीको अभाव देखिएको हो । तरकारी खेती गर्ने जग्गामा प्लटिङ हुन थालेपछि पछिल्लो समय व्यावसायिक तरकारी खेती कम हुन थालेको कृषकहरु बताउँछन् ।
‘बजारमा हरियो तरकारीको माग उच्च छ, हरियो तरकारीको मूल्य बढे पनि उत्पादन भने कम हुँदै गएको छ,’ सूर्यविनायक ७ का कृषक सुमित्रा बस्नेत बताउँछिन् । उत्पादन कम भएकाले भक्तपुरबाट दैनिक काठमाडौंलगायत बाहिरी जिल्लामा निकासी हुँदै आएको तरकारीमा समेत कमी भएको छ । नियमित खपत हुने तरकारी मागअनुसार आपूर्ति गर्न सकिएको छैन । तरकारी व्यापारी प्रिती श्रेष्ठ गाउँबाट हरियो तरकारी आउन छोडेर अहिले कालीमाटीबाट ल्याएर बिक्री गर्ने बताउँछिन् । सूर्यविनायक चोकमा एक दशकदेखि तरकारी बेच्दै आएकी श्रेष्ठ ‘बाहिरी जिल्लाबाट तरकारीको उच्च माग भए पनि निर्यात गर्न नसकिएको बताउँछिन् ।
भक्तपुर च्यामासिंहका व्यापारी हरिकृष्ण मचामसीले विगतका वर्षमा यो समयमा ताथली, सुडाल, बागेश्वरी, नगरकोट, सिपाडोल, नँखेल र चित्तपोलबाट तरकारी लिएर बिक्री गर्ने गरेका थिए । तर, पछिल्ला वर्षमा यहाँबाट तरकारी आउन छाडेको छ । व्यावसायिक रुपमा यहाँका कृषकले काउली, ब्रो काउली, बन्दा, मुला, गान्टे मुला, गाँजर, हरियो लसुन, हरियो प्याज, धनिया, चमसुर, पालुंगो, गोलभेडाको खेती गर्दै आएका थिए । समयमा मल नपाइने, लागत महँगो, आम्दानी थोरै भएकै कारण खेतीयोग्य जमिनलाई प्लटिङ गर्न थालेपछि तरकारी उत्पादन घटेको हो । जिल्लामा हिउँदे तरकारी १,६६० हेक्टरमा लगाइने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा छ । बेमौसमी खेती गर्ने जग्गा ६०६ हेक्टर रहेको छ । खेती किसानी गर्नेहरु पनि अहिले जग्गाको कारोबारमा लागेका छन् । भक्तपुरका विभिन्न स्थानमा जग्गा आनाको ३ देखि ६० लाख रुपैयाँमा बिक्री भइरहेको छ । हिजोआज यहाँ व्यक्तिगत तथा संस्था खोलेरै जग्गा प्लटिङको काम भइरहेको छ ।
भक्तपुरको सहरी क्षेत्रमा मात्रै नभई यतिबेला गाउँ–गाउँमा पनि जग्गा प्लटिङको क्रम बढ्दो छ । ताथली, बागेश्वरी, नगरकोट, सिपाडोल, नंखेल, चित्तपोल, सुडालमा पनि बर्सेनि तरकारी खेती गर्ने जग्गा प्लटिङ गरी घडेरी बनाएर बेच्ने गरिएको छ ।
तरकारीको सहरमा बजार अभाव
नेपालमा तरकारी उत्पादनको सहरका रुपमा चिनिएको भक्तपुरमा व्यवस्थित तरकारी बजार नहुँदा तरकारी उत्पादक किसानहरुले सास्ती खेप्दै आएका छन् । स्थानीयस्तरमा तरकारी बजार नहुँदा उत्पादक किसान मात्र नभएर उपभोक्तासमेत ठगिने गरेका छन् । किसान दिलबहादुर बेकोजू भन्छन्, ‘नेपालकै राम्रो तरकारी उत्पादन हुने र यहाँको माटोको उर्वराशक्ति राम्रो रहे पनि यहाँका किसान नगदे बालीतर्फ अग्रसर नभएकाले सोचेअनुसारको उत्पादन भएको छैन ।’
भक्तपुरका तरकारी उत्पादकभन्दा बिचौलियाहरु मालामाल भएको किसान ठूले सुवाल बताउँछन् । उनी भन्छन्, ‘उपत्यकाका लागि चाहिने आधाभन्दा बढी तरकारी उपलब्ध गराउने जिल्लावासी बढी मूल्य तिरेर किन्न बाध्य छन् ।’ सुकुलढोकाका कृष्णमान दिवाकर तरकारी व्यवसायमा लागेको २६ वर्ष नाघिसक्यो। तरकारी बजारबारे कसैले नसोचिदिँदा यहाँ तरकारी खरिद गर्ने उपभोक्ता महँगोमा किन्नुपरेको उनी बताउँछन् । दिवाकरका अनुसार ७० प्रतिशतभन्दा बढीको तरकारी उत्पादनमा सहभागिता रहेको भक्तपुरमा अहिले जग्गा अभावकै कारण यो संख्या घटेको छ ।
(टोटल मासिकबाट)
https://www.khabarera.com/total/?p=2907
प्रकाशित मिति: ७ असार २०७४, बुधबार ०७:५३